विहेको प्रस्ताव अस्वीकार गरेकोमा आक्रमण



कञ्चनपुर । विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै कञ्चनपुरका एक युवकले युवतीको अनुहारमा तातो घ्यू खन्याएर फरार भएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–५ की २३ वर्षीया सुनिता चन्दमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।
भीमदत्त नगरपालिका–१०, गड्डाचौकी बस्ने २७ वर्षीय राकेश चन्दले युवतीका आफन्तले विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै कुटपिट गरेको प्रहरी नयाव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । घरमा आमाछोरी मात्रै भएको मौकामा सुनितालाई ती युवकले कुटपिट गरेको प्रहरीको भनाइ छ ।
‘आमा–छोरी मात्रै भएको समयमा युवतीमाथि कुटपिट भएको हो । युवतीकी आमाले घरमा घ्यू तताइरहेका बेला ती युवक आएर युवतीको अनुहारमा तातो घ्यू खन्याइदिएको र आँखामा हातका औलाले घोचेका कारण उनको आँखामा गम्भीर चोट लागेको छ,’ डिएसपी सेटीले भने, ‘पीडित युवतीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीका गेटा आँखा अस्पतालमा ल्याइएको छ ।’
सुनिताको परिवारको आफन्त पर्ने राकेश चन्दले एक महिनाअघि सुनितासँग विहे गर्ने प्रस्ताव गरेको र सुनीताको आमाले आफन्त पर्ने भन्दै राकेशको विवाह प्रस्ताव अस्वीकार गरेकी थिइन् । प्रहरीका अनुसार ती युवकको गत मंसिरमा नै विवाह भइसकेको थियो । आफनो बिहे भइसकेपछि राकेशले सुनितालाई दोस्रो विवाह गर्न दबाब दिँदै आएका थिए ।
रोशनी र घर परिवारले बिहे गर्न नमान्दा आवेगमा आएर रोशनले आक्रमण गरेका हुन् । आक्रमण गर्ने राकेश फरार रहेको र खोजी कार्य भइरहेको डिएसपी सेटीले बताए ।

प्रतिक्रिया दिनुहोस्