६ पुष २०८१, शनिबार

भारतले एकतर्फी महाकालीमा बनाएका दुई पुल हटाइए



दार्चुला । महाकाली नदीमा भारतीय पक्षबाट एकतर्फी बनाइएका चार काठेपुलमध्ये दुइटा पुल हटाइएका छन् । फागुन २१ गते भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरूबीच सीमा बैठक भएपछि दुइटा काठेपुल हटाइएका हुन् ।
सीमा बैठकमा नेपाली अधिकारीहरूले आफ्नो सहमतिबिना काठेपुल राखिएको र नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी भएकोप्रति आपत्ति जनाएका थिए । नेपाली अधिकारीहरूसँग बैठकमा गल्ती स्वीकार गरेको भारतीय प्रशासनले बैठकलगत्तै दुइटा काठेपुल हटाएको हो ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा महाकाली नदीमा काठेपुल बनाइएका थिए । नेपालतर्फ मानववस्ती नभएको त्यस क्षेत्रमा भारतले आफ्नो उपयोगका लागि काठेपुल लगाएर नेपाली भूमि प्रयोग गरेको थियो ।
राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकीको टोलीले स्थलगत भ्रमण गरी दुइटा काठेपुल हटाइएको जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गरेको छ । शुक्रबार र शनिबार दुम्लिङ प्रहरी चौकीको टोलीले सीमाक्षेत्रको गस्ती गरेको थियो ।
दुम्लिङबाट चार—पाँच घण्टा पैदल दूरीमा रहेको क्षेत्रमा काठेपुल लगाइएका हुन् । नेपालतर्फको घाटिबगड र भारतको मालपा भन्ने स्थानमा राखिएको काठेपुल हटाइएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक लालबहादुर साउँदले बताए । घाटिबगडभन्दा उत्तरतर्फको नेपालको दोपाखे र भारतको छनकन भन्ने स्थानमा राखिएको अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको भनाई छ ।
नेपालको तम्बाकु र भारतको लखनपुर क्षेत्रमा एउटा तथा नेपालको थीइको भीर र भारतको नजंग भन्ने स्थानमा अर्को गरी अझै दुइटा काठेपुल सञ्चालनमै छन् ।
भारतीय क्षेत्रमा निर्माण भइरहेको सडकमा संलग्न मजदूरको आवतजावत र सामानको ढुवानी यी पुलबाट भइरहेको छ । काठेपुल प्रयोगका साथै नेपाली भूमि भएर कामदार र भरियाले आवतजावत गरिरहेका छन् ।
भारतले महाकाली किनारको सीमावर्ती क्षेत्रमा हरेक ५ किलोमिटरको दूरीमा एसएसबीको पोष्ट राखेको छ । एसएसवी, भारत तिब्बत सीमा पुलिस (आइटिवीपि) र भारतीय सेनाले महाकाली नदी किनारको सीमाक्षेत्रमा नियमित गस्ती गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार