स्थानीय तहको विकास योजना : नातागोता र राजनीतिक निकटलाई
बैतडी । बैतडीका स्थानीय तहका जनप्रतिनिधिहरूले अधिकांश विकासे योजना आफ्ना नातागोता र राजनीतिक निकटलाई मनपरी बाँड्ने गरेको गुनासो बढेको छ ।
बाटो खन्ने, भवन बनाउने र अन्य विकासे योजना आफ्ना नातागोता र राजनीतिक निकटकालाई पोस्ने गरी बजेट दिएको सिगास गाउँपालिका–५, ढुगांडका मीनबहादुर चन्दले गुनासो गरे ।
‘ पाँच लाखको बाटो पाँच दिनमै सके, हेरिदिने कुनै निकाय भएन । आफन्त र कार्यकर्ता पोस्न पुरानै बाटो खोस्रेर पाँच लाख झ्वाम् पारे । सिंचाईको नाममा ५० लाख सक्ने तयारी छ । नानीहरूलाई स्कूल जाने बाटो छैन,’ चन्दले भने ।
जिल्लाको दुर्गम सिगास गाउँपालिकाको स्थलगत निरीक्षण गरिदिन उनले सरोकारवाला निकाय र संचारकर्मीहरूलाई आग्रह गरे । ‘धेरै भन्नु छैन । एक चोटी स्थलगत रूपमा हेरिदिनुस् । भिडियो नै खिचेर लैजानुस् र स्थानीय तहको काम सरकारलाई देखाईदिन विन्ती छ,’ चन्दले भने ।
ग्रामीण सडक सफा गर्न पनि आफ्नो राजनीतिक निकटका व्यक्तिलाई तोक आदेशको भरमा गाउँपालिकाले काम दिएको सिगास गाउँपालिका–१ का रघुवीर भट्टले गुनासो गरे ।
स्थानीयको गुनासो बारे बुझ्दा सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले सबैलाई दामासाहीले बाँड्ने भन्ने कहाँ लेख्या छ ? आवश्यकताका आधारमा योजना बाँडिएको छ, अनुगमन गर्न बाँकी छ । जत्ति काम भएको छ, त्यतीको मात्र मूल्यांकलन गर्ने बताए ।
१० स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडी जिल्लामा विकासे योजनाका नाममा स्थानीय तहले आफ्ना नातागोता र राजनीतिक निकटका व्यक्तिलाई बाँडेको व्यापक जनगुनासो आएकोले सरकारले तुरुन्त अनुगमन थाल्नुपर्ने नागरिक समाजका अगुवा करन दयाल सोराडीले माग गरे ।
कार्यकर्तालाई तोक आदेशका भरमा तुरुन्तै लाखौं रुपियाँ बाँडिएको दशरथ चन्द नगरपालिकाका स्थानीय नागरिकले गुनासो गरेका छन् । ‘गरिब, विपन्नले उपचार गर्न अस्पताल जाने खर्च पाउँदैन तर, कार्यकर्ता र निकटको व्यक्तिलाई तुरुन्तै चेक काटेर सहयोग दिने गरिएको छ,’ स्थानीय सरस्वती नेपालीले भने ।
गाउँपालिकाका जनप्रतिनिधिहरू मनपरी ढंगले चलेको स्थानीय बुद्धिजीवी एवं शिक्षक चन्द्रमोहन तिवारी बताए । ‘मनपरी ढंगले कुनै डिजाईन र स्टमेट बिनानै बाटो खनिरहेका छन् । विकास चाहिन्छ तर, नियमन गर्ने निकाय नहुँदा रकम दुरुपयोग हुने खतरा बढेको छ,’ उनले भने ।
जिल्लाका १० स्थानीय तहहरूमा आर्थिक वर्ष २०७४/०७५ को कुल बजेटबाट निकासा भएको दोस्रो चौमासिकको माघ मसान्तसम्मको खर्च विवरण स्थानीय तहले कोष लेखा नियन्त्रण कार्यालयमा बुझाएका छन् ।
१० वटै स्थानीय तहको कुल वार्षिक बजेट तीन अर्व १० करोड ६० लाख १६ हजारमध्ये माघ मासान्तसम्म स्थानीय तहले ८६ करोड ६५ लाख ५५ हजार नौसय २६ रुपियाँ खर्च गरेको कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख नरेशराज भट्टले जानकारी दिए ।
माघ मसान्तसम्म दशरथ चन्द नगरपालिकाले दोस्रो चौमासिकमा निकासा भएको २५ करोड १२ लाख ६६ हजारमध्ये नौ करोड ६० लाख आठ हजार एकसय ३९ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ३६ करोड ६८ लाख ९९ हजार रहेको छ ।
त्यसैगरी पुरचौडी नगरपालिकाले निकासा भएको २९ करोड ५२ लाख ६ हजार दुईसय ६६ मध्ये १० करोड १६ लाख ६ सय ५६ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ४४ करोड २८ लाख ९९ हजार जेट रहेको छ । पाटन नगरपालिकाले निकासा भएको २४ करोड ७४ लाख २६ हजारमध्ये १२ करोड आठ लाख ११ हजार एकसय ८८ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट ३७ करोड ११ लाख ३९ हजार रहेको छ ।
मेलैली नगरपालिकाले निकासा भएको १९ करोड ९० लाख ४४ हजार ६ सय ६६ मध्ये ११ करोड २४ लाख ६ हजार सातसय ४४ रुपियाँ खर्च गरेको छ । त्यहाँ वार्षिक बजेट २९ करोड ८५ लाख ६७ हजार रहेको छ । डिलासैनी गाउँपालिकाले निकासा भएको १९ करोड ७१ लाख ९४ हजारमध्ये ६ करोड ३७ लाख २१ हजार ६ सय ६६ खर्च गरेको छ । त्यहाँ वर्षिक २९ करोड ५७ लाख ९२ हजार बजेट रहेको छ ।
दोगडाकेदार गाउँपालिकामा २१ करोड एक लाख ६ हजार निकासा भएको मध्ये १० करोड ९० लाख ४१ हजार सातसय ९७ रुपियाँ खर्च गरेको छ । त्यहाँको वर्षिक बजेट ३१ करोड ५२ लाख ७९ हजार रहेको छ । पञ्चेश्वर गाउँपालिकाले निकासा भएको १५ करोड ८४ लाख ७ हजार ६६ रुपियाँमध्ये आठ करोड ९७ लाख ४९ हजार आठसय ३६ रुपियाँ खर्च गरेको छ । त्यहाँको वार्षिक बजेट २३ करोड ७७ लाख तीन हजार रहेको छ ।
शिवनाथ गाउँपालिकामा निकासा भएको १३ करोड ५ लाख ६१ हजार तीनसय ३३ रुपियाँमध्ये दुई करोड २९ लाख ४५ हजार तीनसय ३७ रुपैयाँ खर्च गरेको छ । त्यहाँको बजेट २० करोड ७ लाख ४२ हजार रहेको छ । सुर्नया गाउँपालिकाले निकासा भएको १७ करोड आठ लाख ९७ हजार तीनसय ३३ मध्ये सात करोड ३२ लाख ८५ हजार आठसय ६६ रुपैयाँ खर्च गरेको छ । त्यहाँको वार्षिक बजेट २५ करोड ६३ लाख ४६ हजार छ ।
सिगास गाउँपालिकाले दोस्रो चौमासिकको निकासा भएको २० करोड २३ लाख ६७ हजार तीनसय ३३ रुपियाँमध्ये ७ करोड ६९ लाख ९५ हजार दुईसय ५३ रुपैयाँ खर्च गरेको छ । त्यहाँ वर्षिक बजेट ३० करोड ३५ लाख ५१ हजार रहेको छ ।
(गोरखापत्र)