बर्थिङ सेन्टरलाई सामग्री प्रदान
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयले राईस्थित सहस्त्रलिङ्ग स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री प्रदान गरिएको छ ।
सोमबार एक कार्यक्रमबीच अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र वडाध्यक्ष विष्णु भट्टले संयुक्त रूपमा ती सामग्री स्वास्थ्य चौकी प्रमुख नविन नेपालीलाई हस्तान्तरण गरे ।
वडाध्यक्ष भट्टले बर्थिङ सेन्टरका लागि डेलिभरी बेड, पेरिलाईट, फ्रिज, इलेक्ट्रीकल डप्लर र स्टेचर लगायत डेढ लाख रुपैयाँ मूल्यका सामग्री हस्तान्तरण गरिएको बताए ।
यसैबीच, सोही कार्यक्रममा वडा नम्बर १०, ११ र १ मा सुनौला हजार दिन अभियानका ३० जना आमालाई च्याउको बिउ पनि वितरण गरिएको छ ।
अमरगढी नगरपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कृषि शाखाका कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टका अनुसार उनीहरूलाई दुई सय प्याकेट च्याउको बिउ सहित च्याउ उत्पादन गर्नका लागि आवश्यक पर्ने प्लास्टिक थैली वितरण गरिएको छ ।
च्याउ उत्पादन गर्न चाहने आमाहरूको मागका आधारमा न्यूनतम दुईदेखि १५ प्याकेटसम्म च्याउको वीऊ वितरण गरिएको कृषि प्रसार अधिकृत बिष्टले बताए ।