२० बैशाख २०८१, बिहीबार

बोक्सीको निहुमा यातना घटना : संसददेखि संघसंस्थाद्वारा भत्र्सना, एआइजी भने– दोषिलाई उम्किन दिन्नौं



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँमा बिहीबार बोक्सीको निहुमा युवतीमाथि भएको यातना घटनाबारे प्रदेश संसददेखि स्थानीय तह तथा विभिन्न संघसंस्थाले चासो देखाउँदै भत्र्सना गरेका छन् ।
विभिन्न पक्षले घटनाको गम्भीर छानबिन गरी दोषिमाथि कडा कानुनी कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् । प्रहरी अधिकारीहरूले घटनाका दोषिलाई कुनै पनि हालतमा उम्किन नदिने प्रहरी अधिकारीहरूले बताएका छन् ।
भोलेबाबा भनिने रामबहादुर चौधरी र पार्वतीमाता भनिने किस्मति चौधरीले बिहीबार बोक्सीको आरोपमा देउकलियाका १८ वर्षीया राधा चौधरीमाथि छ घण्टासम्म बर्बर ढंगले कुटपिट तथा यातना दिएका थिए ।
बिहीबार नै पीडितका अभिभावकले सुखड इलाका प्रहरी कार्यालयमा उजुरी दिन खोजे पनि प्रहरीले दर्ता गरेको थिएन । त्यस्तै, घोडाघोडी नगरपालिकाका केही जनप्रतिनिधिले दुवै पक्षबीच मिलापत्र गरी घटना लुकाउने प्रयास समेत गरेका थिए ।
घटनाबारे सञ्चारमाध्यममा व्यापक चर्चा भएपछि र गम्भीर घाइते राधालाई उपचारका लागि धनगढी ल्याइएपछि बल्ल शुक्रबार अभियुक्त भोलेबाबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोक्सी आरोपमा निर्घात कुटिएकी राधाको सेती अञ्चल अस्पतालमा उपचार हुँदै ।

यसैबीच, ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी माधव नेपालले बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने सबैलाई कानुनी कारवाहीको दायरामा ल्याइने बताएका छन् ।
‘हामीले युवती (राधा) लाई बोक्सीको निहुमा कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पक्राउ गरिसकेका छौं’ शनिबार अनुमोदन दैनिकसँगको टेलिफोन कुराकानीमा एआईजी नेपालले भने– ‘घटनामा संलग्न सबै व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन दिइसकेको छु ।’
एआइजी नेपालले बोक्सीको निहुमा युवतीमाथि भएको कुटपिट र यातना घटनाका संलग्न अपराधिहरूलाई कुनै पनि हालतमा उम्किन नदिने दृढता व्यक्त गरे । उनले भने प्रहरीले त्यो घटनाको प्रमाणका रूपमा सार्वजनिक भएको भिडियो सुरक्षित राखेको छ, हामी कुटपिटमा संलग्न महिलाको खोजीमा छौं ।’
एआइजी नेपालले प्रहरीले सो घटनालाई सार्वजनिक अपराधका रूपमा नभई बोक्सी आरोपमा कुटपिट गरेको मुद्दाका रूपमा नै अघि बढाउने बताए । उनले घटनामा संलग्न अपराधीलाई संरक्षण गर्ने प्रयास गर्नेहरूलाई समेत कानुनी कारवाही गरिने चेतावनी दिए ।
प्रहरीले आज सो घटनाबारे कैलाली जिल्ला अदालतमा मुद्दा दायर गर्ने जनाएको छ ।
एआइजी नेपालले सुखड ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिनेशबहादुर बिष्टलाई स्पष्टीकरणका लागि जिल्ला प्रहरी कार्यालयमा हाजिर गराएको जानकारी दिए । उनले भने– ‘यदि सो घटनामा उनी (प्रनानि बिष्ट) पनि दोषि देखिए भने कारवाही गरिने छ । प्रहरी स्रोतका अनुसार प्रनानि बिष्टले सो घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिएनन् । उनले पीडकहरूसँग मिलेर घटनाको मिलापत्र गराउने प्रयास गरेका थिए ।
पीडित पक्षका अनुसार घटनाको लगत्तै प्रहरीले पीडक र पीडित दुवै पक्षलाई ईलाका प्रहरी कार्यालयमा ल्याएको थियो । त्यहाँ अभियुक्तलाई उन्मुक्ति दिने गरी मिलापत्र गराइएको पीडितले बताए ।

बोक्सी आरोपमा राधालाई कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरी ।

प्रनानि विष्टले भने घटनामा कुनै मिलापत्र नगराएको दावी गरे । उनले घटनाबारे पीडित पक्षबाट कुनै उजुरी नआएको पनि दावी गरे । ‘घटनाको भोलिपल्टै दोषि रामबहादुरलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पठाए’ उनले पीडित पक्षले सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिएपछि आफूले नै ‘बोक्सीको आरोपमा कुटपिट’ को जाहेरी दिन सुझाव दिएको बताए ।
घटनाबारे जानकारी पाएपछि घोडाघोडी नगरपालिकाका नगर ममताप्रसाद चौधरीले नै ईलाका प्रहरी कार्यालयमा गएर ‘मिलापत्र’ गराउन निर्देशन दिएको बताइएको छ । नगर प्रमुख चौधरी प्रहरी कार्यालयबाट बाहिरिएपछि वडा नम्बर ५ का वडाध्यक्ष प्रेम रोकायाको रोहवरमा मिलापत्र गराइएको बताइन्छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालयमै ‘पीडकले पीडितलाई उपचार खर्चवापत ४५ हजार रुपैयाँ उपलब्ध गराउने’ कागज बनाइएको थियो ।
यता घोडाघोडी नगर प्रमुख चौधरीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सो घटनामा संलग्न व्यक्तिहरूमाथि ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा चलाउन माग गरे । ‘घटना निकै गम्भीर र दु:खद् छ’ उनले भने– ‘घटनामा संलग्न कसैले पनि उन्मुक्ती पाउनु हुँदैन, उनीहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइनु पर्छ ।’
‘जनप्रतिनिधिकै रोहबरमा घटनालाई लुकाउने प्रयास गरिएको भनिन्छ नि ?’ सञ्चारकर्मीको एक प्रश्नमा नगर प्रमुख ममताप्रसादले भने– ‘हो, म प्रहरी चौकी गएको थिए, तर, मैले त्यहाँ न पीडित वा पीडक कसैसँग पनि कुरा गरिन, एकछिन हेरेर निस्के ।’ नगर प्रमुख ममताप्रसादले आफूले प्रहरीलाई घटनाको मिलापत्र गराएर टुङ्गो लगाउन दवाव नदिएको दावी गरे । ‘मैले त शुरुमा घटना सामान्य होला भनेर प्रहरी कार्यालयमा एकछिन छिरेर निस्किहाले, तर पछि युवतीमाथि निर्घात कुटपिट गरियो भन्ने थाहा पाए ।’

उनले घटनाका सन्दर्भमा आफू पनि विवादमा आएकोले स्पष्ट पार्न आवश्यक रहेको बताए । ‘घटना घटेको तीन दिनपछि बल्ल किन पत्रकार सम्मेलन गर्नुपर्‍यो ?’ सञ्चारकर्मीको अर्को प्रश्नमा उनले भने– ‘म पनि विवादमा तानिएको छु, त्यसैले अब मलाई सञ्चारकर्मीले सफाई दिनुपर्‍यो र घटनामा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउन दवाव बढाउनु पर्‍यो ।’
यसैबीच, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घटनाका पीडकविरुद्ध ‘बोक्सी आरोप सम्बन्धी कसूर तथा सजाय ऐनअनुसार मुद्दा चलाउने तयारी’ भएको जानकारी दिएका छन् ।
सो ऐनअनुसार कसूरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना भराउने प्रावधान रहेको छ ।

सांसदहरूद्वारा घटनाको भत्र्सना
धनगढी । प्रदेश ७ को शनिबारको संसद बैठकमा सांसदहरूले घोडाघोडी नगरपालिकाको देउकलियामा बिहीबार युवतीमाथि बोक्सीको निहुमा गरिएको कुटपिट र यातना घटनाको भत्र्सना गर्दै दोषिहरूमाथि कडा कारवाहीको माग गरेका छन् ।
संसद बैठकमा विशेष समय लिएर एमालेकी सांसद पूर्णा जोशी, माओवादी केन्द्रकी सांसद कुन्ती जोशी र राष्ट्रिय जनता पार्टीकी सांसद मालामती चौधरीले घटनाको भत्र्सना गर्दै दोषिलाई कडा कारवाही गर्न सरकारसँग माग गरे ।
सांसदहरूले पीडित किशोरीलाई क्षतिपूर्तिसहित न्याय दिन पनि सरकारसँग माग गरे ।
यस्तै, ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् ।
‘मानिसले स्वतन्त्र र निष्पक्ष वातावरणमा बाँच्न पाउनुपर्छ’ शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री भट्टले भने– ‘घोडाघोडी नगरपालिकाको देउकलियामा युवतीमाथि अमानवीय ढंगले गरिएको निर्घात कुटपिटमा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याइने छ ।’
यता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बोक्सीको आरोपमा निर्घात रूपमा कुटपिट गरिएकी राधा चौधरीलाई शनिबार भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

पीडित राधाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सेती अञ्चल अस्पताल पुगेकी मन्त्री विनिताले उनको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने आश्वासन दिइन् ।
यस्तै, स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको घटनामा संलग्न सबै व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

याे पनि पढ्नुस्

‘बोक्सी’ को आरोपमा चरम यातना : ‘नकुट्नुस भनेर बिन्तीभाउ गरे, रोएकराए, तर मानेनन्’

बोक्सीकाे आरोपमा बालिकामाथि निर्घात कुटपिट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार