‘बोक्सी’ को आरोपमा चरम यातना : ‘नकुट्नुस भनेर बिन्तीभाउ गरे, रोएकराए, तर मानेनन्’ (भिडियोसहित)



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५, देउकलिया गाउँ । बिहीबारको दिन । बिहानको सात बज्दै थियो । किसान जोखन चौधरीका १८ वर्षीया छोरी राधा चौधरी घर नजिकै गोठमा गोबर सोहोरेर घर फर्किदै थिइन् । एक्कासी छ, सात जनाको समूह उनको घरमा आइपुग्यो । निकै तम्तमाएको मुद्रामा रहेको समूहबाट केही कराए– यही हो बोक्सी, समात् । उनीहरूले राधालाई बलजफ्ती लछारपछार गर्दै ‘भोलेबाबा’को आश्रम तिर पुर्‍याए ।

बोक्सी आरोपमा निर्घात कुटिएकी राधाको सेती अञ्चल अस्पतालमा उपचार हुँदै ।

भोलेबाबा (रामबहादुर चौधरी) को घरमा ठूलो संख्यामा छरछिमेकी, गाउले रमितेका रूपमा चारैतिर घेरा बनाएर बसेका थिए । करिब २० मिनेटको पैदल दूरीमा रहेको भोलेबाबाको घरमा त्यो समूहले राधालाई घिसार्दै ल्याइपुर्‍यायो । अनी शुरु भयो– ‘एक्काइसौं शताब्दीमा मध्यकालको क्रूर, बर्बर र पाशविक कुकर्म ।’

बोक्सी आरोपमा राधालाई कुट्ने भोलेबाबा भनिने रामबहादुर चौधरी ।

चारैतिर रमिते गाउँले, आफन्त तथा छरछिमेक । बीचको आँगनमा रोइकराई रहेकी राधा र, उनीमाथि पाशविक ढंगले कुटपिट गरिरहेकी ‘पार्वतिमाता’ । भोलेबाबाकी सहायिका रहेकी ‘पार्वतीमाता’ ले राधामाथि निरन्तर कुटपिट गरिरहे । रमितेहरू रमिता हेरिरहे ।

झण्डै आधा घन्टा ‘पार्वतीमाता’ को उन्मादपूर्ण कुटपिटपछि राधा थिल्थिलो भसकेकी थिइन् । तर, उनीमाथिको यातना रोकिएन । ‘पार्वतीमाता’ एकाएक भुईमा उत्तानो परेर बर्बराउन लागिन । अब त्यहाँ काप्दै, नाच्दै ‘भोलबाबा’ को प्रवेश भयो । अनी भोलेबाबाले शुरु गरे आफ्नो क्रूर कारवाही । कुनै निर्जीव वस्तुलाई हिर्काए झैं उनले न्वारानदेखिको बल लगाउँदै राधामाथि लात्तीघुस्सा प्रहार गरिरहे । राधाले रोइकराई गरिरहिन् । हारगुहार गरिन् । आफूले कुनै गल्ती नगरेको भन्दै नकुट्न बिन्तीभाउ गरिरहिन्, तर भोलेबाबाको क्रूरतामा रत्तीभर कमी आएन । निरन्तरको कुटाईबाट राधा बेहास भइन् । तर, भोलेबाबाहरूले ‘बोक्सी’ भगाउन छ घन्टासम्म पाशविकता प्रदर्शन गरिरहे ।

बिहीबार संसारभरीका महिलाले १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । महिलामाथि हुने विभेद र हिंसा रोक्नुपर्ने गगनभेदी नारा घन्किरहेका थिए । महिला अधिकारबारे ठूल्ठूला गोष्ठी, छलफल, र्‍यालीसहितका कार्यक्रम आयोजना भइरहेका थिए । उता, देउकलियामा भने राधा ‘बोक्सी’ को आरोपमा बर्बर यातना सहन बाध्य भइरहिन् । कक्षा ११ की विद्यार्थी राधामाथि २६ वर्षीय भोलेबाबा र उनकी सहयोगी पार्वतीमाता चौधरीबाट सभ्य समाजलाई नै लाज लाग्ने गरी पाशविकता प्रदर्शन भइरह्यो, तर कोही कसैले पनि त्यसको प्रतिकार गर्ने चासो सम्म देखाएनन् ।

‘मलाई किन सबैले चिच्याएर बोक्सी भन्दै लछापछार गरेर लिँदैछन् भन्ने मैले ठम्याउनै सकिन’ शुक्रबार सेती अञ्चल अस्पतालको बेडबाट मलिन स्वरमा राधाले भनिन्– ‘मलाई केही बोल्ने मौका पनि दिएनन् । भोलेबाबा कहाँ पुग्दा आश्रमको बाहिर ठूलो संख्यामा मान्छे भेला भएका थिए । उनीहरूको बीचमा भोलेबाबा र पार्वतीमाताले बोक्सीको आरोप लगाउँदै निर्घात कुट्न थाले । तर, त्यहाँ भएका सबै रमिते मात्रै बने, कसैले पनि विरोध गरेनन् ।’

अस्पतालमा उपचार गराइरहेकी राधालाई आफूमाथि किन यत्रो यातना दिइयो भन्ने अहिलेसम्म भेउ पाउन सकेकी छैनन् । ‘मैले मेरो केही गल्ती छैन्, के गल्ती गरे र ? नमार्नुस् भनेर दश औंला जोडेर बिन्ती गरे’ उनले गहभरी आसु झार्दै अनुमोदनसँग भनिन्– ‘तर न भोलेबाबा न पार्वतीमाता अथवा अरूले कसैले पनि मेरो पुकार सुनेनन् ।’

भोलेबाबा र पार्वतीमाताको निर्घात कुटाईबाट बेहोस भएकी राधालाई केही व्यक्तिले एक बजेपछि एम्बुलेन्सबाट घोडाघोडीस्थित सुखड इलाका प्रहरी कार्यालयमा उद्धार गरेर पुर्‍याइयो । उद्धारमा संलग्न व्यक्तिहरूले प्रहरीलाई भोलेबाबाको कर्तुतबारे बताउँदै कारबाहीको माग गरे । उनीहरूले भने– ‘तर, प्रहरी सामु भोलेबाबाले उल्टै आफूलाई ‘भगवान’ भन्दै पुन: राधामाथि जाइलागे । प्रहरी भने मुकदर्शक बनिरह्यो, उल्टै रामबहादुरलाई ‘भोलेबाबा’ भन्दै खुट्टामा ढोग्न पुगे ।’

राधाकी आमा फूलकेसरीले बिहीबार नै भोलेबाबाको विरुद्ध सुखड प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोज्दा इन्कार गरेको बताइन् । उनले भनिन्– ‘प्रहरी, गाउले कसैले पनि सहयोग गरेनन् ।’

भोलेबाबा भने अहिले पनि आफूलाई ‘भगवान’ को अवतार भएको धाक लगाइरहेका छन् ।

बोक्सी आरोपमा कुटपिट गरिएकी राधाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ ।

राधाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भएपनि उनलाई मानसिक तनावले गर्दा अलि समस्या भएको राधाको उपचारमा संलग्न चिकित्सकले बताए ।

स्थानीय राष्ट्रिय उच्च माविमा कक्षा ११ मा अध्ययरत राधाका बुबाआमासहित दुई दाजुभाइ तथा एक बहिनी छन् । अर्धबेहोस अवस्थामा घोडाघोडी अस्पतालमा उपचार गराइरहेकी राधालाई शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग धनगढीका निमित्त निर्देशक दीपकजंगध्वज कार्कीसहितको अधिकारकर्मीको टोलीले उद्धार गरेर धनगढी ल्याएको हो ।

https://www.youtube.com/watch?v=Vtv9k3KhMXE&feature=youtu.be

बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले बताए ।

रामबहादुरबिरुद्ध शुक्रबार सुखड इलाका प्रहरी कार्यालयमा राधाका बुबा जोखन चौधरीले मुद्दा दर्ता गराएको डीएसपी बोहराले बताए । उनले घटनाको गहनरूपमा अनुसन्धान गरी घटनामा संलग्न कसैलाई नछोड्ने बताए ।

 

तस्बिर : दीपक ओली, धनगढी ।

फागुन २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्