३० भाद्र २०८१, आईतवार

चिकित्कसको सुरक्षाको लागि प्रदेशबाट कडा कानुन ल्याउछौं : सोडारी



डोटी । सात नम्बर प्रदेशका सामाजिक विकास मंन्त्री दीर्घबहादुर सोडारीले चिकित्सकाहरूको सुरक्षाको लागि प्रदेश स्तरबाट कडा कानुन ल्याइने बताएका छन् ।
डाक्टर माथि बिरामीका आफन्तहरूले कुटपिट गरेपछि सुरक्षाको माग गर्दै १९ दिनदेखि बन्द रहेको डोटी जिल्ला अस्पतालमा सेवा सुचारु गर्ने क्रममा भएको छलफल कार्यक्रममा मन्त्री सोडारीले चिकित्सकहरूको संगठनसँग भएको सम्झौताका क्रममा कानुन फितलो भएको गुनासो आएको हुँदा प्रदेश स्तरबाट नै डाक्टरहरूको सुरक्षाको लागि कडा कानुन आवश्यक भएको कुरा औंल्याए । मन्त्री सोडारीले भने– ‘दुर्गममा त्यसै पनि डाक्टर जान मान्दैनन् त्यसमा पनि असुरक्षा महसुस भयो भने कसरी स्वास्थ्य क्षेत्रमा काम गर्न सकिन्छ । चिकित्सकहरूको एशोसियसनसँग सम्झौता पनि भएको छ । डाक्टरको सुरक्षाको लागी कडा कानुन आवश्यक छ ।’
सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले डोटी जिल्ला अस्पताल सिलगढीमा आफूसँगै डा. गिरिस अवस्थी मार्फत १९ दिनदेखि बन्द रहेको चिकित्सकीय सेवा पुनः सुचारु गराएका हुन् । जिल्ला अस्पताल डोटीमा आयोजित छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख शतिस बिष्टले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेका अन्य डाक्टरहरूलाई पनि जिल्ला ल्याउने प्रयास गरिरहेको बताए । प्रमुख बिष्टले भने– ‘चिकित्सकिय सेवा बाहेकका अन्य सेवा चालु नै थिए । आजदेखि चिकित्सकिय सेवा समेत सुचारु भएको छ ।’ छलफल कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक अनुज भट्चन, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, नेकपा (एमाले) डोटीका जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल लगायतको उपस्थिति रहेको थियो ।
डोटीकै केदार अखडा स्वास्थ्य केन्द्रमा कार्यरत डा. जीतेन्द्र सिंह माथि फागुन ६ गते जिल्ला अस्पताल डोटी कार्यकक्षमा बसिरहेको समयमा बिरामीका आफन्तहरूले कुटपिट गरेपछि जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था नभएको भन्दै नेपाल चिकित्सक संघले जिल्लामा कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई जिल्ला छाड्न आग्रह गरेको थियो । डाक्टरहरूले जिल्ला छोेडेर काठमाडौं गएसँगै अस्पतालमा चिकित्सकीय सेवाहरू बन्द भएका थिए ।
जिल्ला अस्पताल डोटी बन्द हुँदा सामान्य उपचारका लागि समेत सर्वसाधारणहरू महंगो मूल्य तिरेर निजी स्वास्थ्य संस्था धाउन बाध्य भएका थिए । स्थानीय तहमा समेत सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएको दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार