चिकित्सकहरूलाई सेवा प्रदान गर्न आग्रह
धनगढी । डोटीको दिपायल–सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले डोटी जिल्ला अस्पतालमा आएर सेवा प्रदान गर्न चिकित्सकहरूलाई आग्रह गरेकी छन् ।
डोटी जिल्लाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर जीतेन्द्र सिंहमाथि गत ६ गते डोटी जिल्ला अस्पतालभित्रै हातपात भएपछि जिल्लामा रहेका चारै जना डाक्टरहरूले जिल्ला छोडेर काठमाडौं गएका छन् ।
डाक्टरहरू नहुँदा डोटीमा स्वास्थ्य उपचार सेवा अस्तव्यस्त बनेको छ भने बिरामीहरूले निकै सास्ती भोग्नु परेको छ ।
जिल्लामा सेवाग्राहीले भोगिरहेको सास्ती स्मरण गर्दै नगर प्रमुख मलासीले भनिन्– ‘तपाई चिकित्सकहरूको सुरक्षाको ग्यारेण्टी नगरपालिकाले लिन्छ, कृपया आ–आफनो कार्य क्षेत्रमा आएर सेवा प्रदान गर्नुहोस् ।’
बुधबार धनगढीमा भएको गरिबी निवारण कोषको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर डोटी फर्कने क्रममा अनुमोदन दैनिकसँग कुराकानी गर्दै नगर प्रमुख मलासीले चिकित्सकहरूमाथिको आक्रमणको घटना दु:खद भएको बताइन् । उनले भनिन्– ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन हामी निकै सजग र गम्भीर छौं ।’ नगर प्रमुख मलासीले डाक्टरहरूमाथि हातपात भएको घटनामा संलग्न व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आइसकेकाले काममा फर्कन आग्रह गरिन् ।
नगर प्रमुख मलासीले स्वास्थ्य उपचार सेवा ठप्प गरेर कसैले पनि न्याय नपाउने बताइन् । ‘अस्पताल र सेवा सुचारु गर्नका लागि दरबन्दी अनुसारको डाक्टर पठाइनुपर्छ’ उनले नगरपालिकाले डाक्टरहरूलाई काममा फिर्ता ल्याउनका लागि पहल गरिरहेको बताइन् । उनले डाक्टरहरूले स्थानीय सरकारलाई जानकारी नै नदिएर काम छोडेर काठमाडौं जानु नियमसंगत नभएको जिकिर गरिन् ।
चिकित्सकहरूले नभएपछि जिल्ला अस्पताल डोटीको सबै सेवा ठप्प भएका छन् । आकस्मिक बाहेक सबै सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा पर्न थालेका छन् ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण त्यहाँका सर्वसाधारणहरू स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका छन् ।