६ पुष २०८१, शनिबार

दुराचारी बाजे वकिलको खोजीमा…



धनगढी । मान्छे कति यौन पिपासु हुन्छ ? भन्ने उदाहरण कैलालीको टीकापुरका ७२ वर्षीय रामबहादुर चौधरी (नाम परिवर्तन) बनेका छन् ।
डेढ वर्षअघि १३ वर्षीया नातिनीलाई पटकपटक बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका रामबहादुरलाई कैलाली जिल्ला अदालतले ११ वर्ष जेल सजाय सुनाएको छ । सहदोर नातिनीलाई पटकपटक बलात्कार गरेर गर्भवती समेत बनाएका ‘निच’ बुढालाई सो घटनाको अझैं पश्चाताप, ग्लानी अथवा अपराधबोध छैन । बरु उनी आफूले गरेको पाशविक कृत्यलाई ‘बहादुरी’ ठान्दै आफूलाई ‘निर्दोष सावित’ गर्न पुनरावेदन अदालत जाने तरखरमा छन् । तर, अहिलेसम्म उनको ‘पाप’ मा भागिदार बन्नका लागि कोही पनि वकिल तयार भएका छैनन् ।
अधम रामबहादुरले २०७३ भदौमा पटकपटक १३ वर्षीया अबोध नातिनीलाई बलात्कार गरेका थिए । उनको कूकर्मको सजाय नातिनीले भोग्नुपर्ने अवस्था सिर्जना भयो । अर्थात्, नाबालिका गर्भवती भएपछि बलात्कारको घटना सार्वजनिक भयो । र, रामबहादुर विरुद्ध बलात्कारको मुद्दा दायर भयो ।
२०७४ साल असार ३० गते दर्ता भएको मुद्दाको मंसिर १२ गते फैसला भयो । कैलाली जिल्ला अदालतका न्यायधीश परशुराम भट्टराईको एकल इजलासले सो मुद्दाको सुनुवाई गर्दै ११ वर्ष जेल सजाय र ३० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश गर्‍यो । कूकर्मी रामबहादुर अहिले कैलाली जिल्ला कारागारमा जेल सजाय काटिरहेका छन् ।
बलात्कृत नातिनीले बच्चा जन्माइन् वा जन्माइनन् ? अहिले उनी के गर्दैछिन् भन्ने जानकारी दिइएको छैन । उनकी आमाले प्रहरी र अदालतमा दिएको बयान अनुसार ‘आफू र सासु घरमा नभएको मौका छोपेर बुढा रामबहादुरले पटकपटक बलात्कार’ गरेका थिए ।
‘छोरीको पेट बढ्न थालेपछि अस्पतालमा चेकजाँच गराए’ उनले सम्झिइन्– ‘छोरी गर्भवती भएको थाह पाएपछि केरकार गर्दा सबै कुरा स्पष्ट भयो, अनि सहन नसकेर न्याय पाउन प्रहरी र अदालत पुगे ।’
पीडित बालिकाले अदालतमा दिएको बयानमा ‘बलात्कारी बाजेले आफूलाई कसैलाई पनि कुनै कुरा बताएमा ज्यान मार्ने धम्की दिएको’ उल्लेख गरेकी छन् । ‘म निकै डराएकी थिए’ उनले भनेकि छन्– ‘त्यसैले मैले पटकपटक पीडा र आँशु लुकाए, तर बा, आमा, बजै कसैलाई पनि उसको कूकर्मबारे कुनै कुरा भन्न सकिन ।’
बाजे नातिनीको पवित्र सम्बन्धलाई समेत सर्मनाक बनाएका दुराचारी बुढाले पनि अदालतमा ‘रक्सी खाएको बेला नातिनीसँग जबरजस्ती यौनसम्पर्क गरेको’ स्वीकार गरेका छन् । कारागारमा बन्दी जीवन बिताइरहेका उनी अहिले पुनरावेदन अदालत जान वकिल खोजिरहेका छन् । ‘उनले कारागारबाटै वकिल खोजेका रहेछन्, तर कसैले पनि उनको पक्षमा लड्न मानेका छैनन्’ धनगढीका अधिवक्ता गम्भीरसिंह ऐरले भने– ‘मुद्दाको प्रकृति तथा प्रमाण आदि हेर्दा बुढा रामबहादुर निर्दोष हुने कत्ति पनि सम्भावना छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार