टीकापुरकाण्डका अभियुक्त रेशमलाल चौधरी जेल चलान



धनगढी । टीकापुर काण्डका अभियुक्त रेशमलाल चौधरी सोमबार जेल चलान भएका छन् । फरार रहेरै चौधरी ०७४ सालमा प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका थिए ।
कैलाली जिल्ला अदालतका न्यायधिस पर्शुराम भट्टराईको एकल इजलासले सोमबार थुनछेक बहसपछि थुनामा राखेर जेल चलान गर्ने आदेश गरेअनुसार चौधरीलाई जेल चलान गरिएको हो ।
चौधरी सोमबार दिउँसो आफै जिल्ला अदालतमा उपस्थित भएका थिए । जेल चलान भएपनि उनको सांसद पद तत्काल नजाने जिकिर अधिवक्ता तथा पत्रकार शिव गाउँले बताउँछन् ।
अर्का वकिल गम्भीरसिंह ऐर चौधरीले अदालतको आदेशमा पुनरावेदन अदालत दिपायलमा पुनरावेदन गर्न सक्छन् । फैसलापछि अदालतमा प्रतिक्रिया दिँदै चौधरीले आफूले अदालतको निर्णयको सम्मान गर्ने बताउँदै भविष्यमा न्याय पाउने विश्वास व्यक्त गरे ।
चौधरी सहितका ५८ जनालाई कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग सहितका तीनवटा मुद्दा लगाइएको छ वकिल हिमालयविक्रम विष्ट बताउँछन् । ५८ जनामध्ये अझै ३२ जना फरार रहेका छन् भने कतिपयको थर र ठेगाना समेत खुलेको छैन । २३ जना भने अहिले पनि कैलाली जिल्ला कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्