२२ बैशाख २०८१, शनिबार

नगर बस सेवा सञ्चालन



डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेको छ ।
७३ लाख रुपैयाँको लगानीमा नगरपालिकाले दुई वटा बस सहित यातायात सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
शुक्रबार एक कार्यक्रमबीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा नगर बसको उद्घाटन गरेका थिए ।
नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको नगरबसले सर्बसाधारण नागरिकलाई सर्वसुलभ यातायात सेवा पुग्नेमा मुख्यमन्त्री भट्टले विश्वास व्यक्त गरे ।
दिपायल सिलगढी नगरपलिकाकी मेयर मञ्जु मलासीले स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफनो घोषणापत्रमा उल्लेख गरेकी थिईन् । सर्बसाधारण यात्रुहरूले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर नै नगरबसको अवधारणा ल्याएको उनले बताइन् ।
नगर क्षेत्रमा सहज गाडी नपाउँदा घण्टौ कुर्नुपर्ने अवस्था रहेकाले यो अवधारणा ल्याएको बताउँदै उनले अब कम्तीमा पनि नगर बसले थोरै भएपनि राहत हुने बताइन् । नगरबसमा भाँडा सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताइन् । बस संञ्चालनको कार्यविधि बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको छ । नगर बस सञ्चालनमा आएपछि स्थानीय वासी हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार