३० भाद्र २०८१, आईतवार

संसदीय मामिला पत्रकार समाज गठन



धनगढी । सात नम्बर प्रदेशमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाज गठन भएको छ ।
बुधबार धनगढीमा संसदीय रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूको एक भेलाले पत्रकार प्रकाशबिक्रम शाहको अध्यक्षतामा सात सदस्यीय समाज गठन भएको छ ।
समितिको उपाध्यक्षमा भरत शाह, महासचिवमा गोविन्द रोस्यारा, सचिवमा भीम चौधरी र कोषाध्यक्षमा टेकराज जोशी रहेका छन् ।
त्यस्तै, सदस्यमा दिनेश ठकुल्ला र कैलाश जोशी सदस्य रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले संसदीय व्यवस्था विश्वकै उत्कृष्ट राज्य प्रणाली भएकाले यसको लाभ आम नागरिकसम्म पुग्ने गरी सञ्चारकर्मीले रिपोर्टिङ गर्न आग्रह गरे ।
बरिष्ठ उपाध्यक्ष पोख्रेलले संसदलाई सधैं जनताप्रति उत्तरदायी बनाइराख्न यसका कामकारबाहीको सञ्चार क्षेत्रले निरन्तर निगरानी र खबरदारी गरिरहनु पर्ने चर्चा गरे । उनले भने– यदाकदा संसदको सर्बोच्चताका नाममा अधिनायकवादी प्रवृत्ति समेत देखापर्ने खतरा हुन्छ । त्यसैले सञ्चारकर्मीहरूले सधैं सजग र जागरुक भएर यसका प्रत्येक कामकारबाहीको निगरानी गरिराख्नु पर्दछ ।
भेलामा नेपाल प्रेस यूनियनका पूर्व महासचिव शिव लम्सालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै केन्द्रमा सिमित रहेको संसदीय रिपोर्टिङ प्रदेश तहसम्म विस्तार भएको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउद, पूर्व केन्द्रीय सदस्य कर्ण शाह लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष शाहका अनुसार छिट्टै संस्थाले आगामी कार्ययोजना तयार गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार