२ माघ २०८१, बुधबार

प्रदेश मन्त्रीपरिषद् बैठक : विभिन्न नौ निर्णय



धनगढी । सात नम्बर प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद बैठकले महत्त्वपूर्ण विषयका विभिन्न नौ वटा निर्णय गरेको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सात नम्बर प्रदेशमा सञ्चालित सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटिया–दिपायल द्रुतमार्ग सहितका राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य चाडै पूरा गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशमा निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि संयन्त्र निर्माण गर्ने पनि निर्णय गरिएको जानकारी दिए ।
प्रदेश मन्त्रीपरिषद् बैठकले सरकारको कार्य विभाजन, कार्यसम्पादन र केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली स्वीकृत गरेको छ ।
‘प्रदेशमा भ्रष्टाचारमा सून्य सहनशीलता नीति अवलम्बन गरिने छ’ सरकारका प्रवक्ता शाहले भने– ‘कुनै पनि तह तथा निकायमा हुने भ्रष्टाचार नियन्त्रण गरेर प्रदेशमा सुशासन कायम गर्न सरकारले आवश्यक काम गर्ने निर्णय गरेको छ ।’
प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशभित्रका पर्यटकीय सम्भाव्यता पहिचान गरेर प्रवद्र्धन र विकास गर्ने, कृषि क्षेत्रलाई व्यवस्थित गर्दै उत्पादकत्व बढाउन केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर माटो परीक्षणको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
उनले सरकारले सूचना प्रविधी क्षेत्रलाई महत्त्व दिएर विद्युतीय शुसासन प्रणाली अवलम्वन गर्ने निर्णय गरेको बताए ।

 

मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

पदवहाल ग्रहण गर्न जार्दै सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी ।

यसअघि आइतबार बिहान मुख्यमन्त्री भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदवहाली गरे ।
मुख्यमन्त्री भट्टले आफनो कार्यकक्षमा पुगेर फाइलमा हस्ताक्षर गरेर पदवहाली गरेका थिए । सो अवसरमा मुख्यमन्त्री भट्टले देश संघीयताको नयाँ चरणमा प्रवेश गरेकाले यसलाई व्यवस्थित गर्न र जनताको भावना अनुसारको विकास तथा शासन सञ्चालन गर्न आफ्नो नेतृत्वको सरकार सधैं सजग र गम्भीर रहेको बताए ।
मुख्यमन्त्री भट्ट पदवहाली लगत्तै धनगढीस्थित सेती अञ्चल अस्पतालमा छड्के निरीक्षणमा गएका थिए ।
अस्पताल निरीक्षणका क्रममा मूख्यमन्त्रीले अस्पतालमा विरामीको चाप अनुसारको उपचार क्षमता नभएको पाइएको प्रतिक्रिया दिए । निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा उनले अस्पतालमा स्वास्थ्य उपचार सेवामा सुधार गर्न प्रदेश सरकारले तत्कालै केही काम गर्ने बताए ।
त्यस्तै, प्रदेश सरकारका सबै छ जना मन्त्रीले पनि आइतबार नै पदबहाली गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आ–आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।
पदबहाली गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले प्रदेशमा जनताले पूर्ण सुरक्षाको अनुभूति गर्न सक्ने ढंगबाट काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, सामाजिक विकास मन्त्री सोडारीले स्वास्थ्य र शिक्षा सेवाको क्षेत्रमा सुधारका लागि तीब्र गतिमा काम गरिने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भट्टले पर्यटकीय क्षेत्रको विकासका लागि कार्यदल बनाएर काम गर्ने बताइन् ।
आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
उनले करको दर नभई करका दायराहरू फराकिलो बनाउनुपर्ने बताए । उनले १५ देखि २५ वर्षको आर्थिक विकास सम्बन्धी गुरुयोजना तयार गरिने बताए ।
भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने, सुकुम्बासी, मुक्त कमैया, हलियाका समस्याको समाधान गर्न पहल गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार