२२ बैशाख २०८१, शनिबार

कालंगा जलविद्युत निर्माण कार्य जारी



बझाङ । बझाङको बुंगल नगरपालिकामा निजी लगानीको कालंगा जलविद्युत आयोजनाको काम काम तीब्र गतिमा भइरहेको छ ।
कालंगा हाइड्रोपावर प्रालिका अनुसार सो जलविद्युत आयोजना ७५ मेगावाट विद्युत उत्पादन क्षमताको रहेको छ ।
‘गाउँमा सडक पुग्छ र गाडी चढ्न पाईन्छ भन्ने सोचेको थिएन, अहिले गाउँमा अपर कालंगा हाईड्रोपावर निर्माण हुन थालेपछि गाउँसम्म सडक समेत निर्माण भएको छ’ बंगल नगरपालिका वडा नम्बर २ का धौल्या धामीले भने– अब त गाउँमै विजुली समेत आउने भयो ।
बुंगलबासी गाउँमै विद्युत आयोजना र सडक निर्माण हुन थालेपछि रोजगारी पनि सिर्जना हुने आशामा छन् । कालंगा जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा भइरहेकोले उनीहरू छिट्टै गाउँ उज्यालो हुने पनि आशा गरिरहेका छन् । जलविद्युत तथा सडक निर्माणले स्थानीयले अहिले नै पनि रोजगारी पाइरहेका छन् । ‘अहिले दैनिक १२ घन्टा काम गरिरहेका छौं’ स्थानीय कलक भण्डारीले भने– काम अनुसारको दाम पनि पाइरहेका छौं ।
कालंगा जलविद्युत आयोजना निर्माणको छ महिनामा एक किलोमिटर सुरुङमार्ग बनेको छ । सुरुङमार्गमा काम गरिरहेका मजदुरहरू बाहिरको घामपानीको परबाह नगरेर रातदिन काम गरिरहेका छन् । कालंगा जलविद्युत आयोजनामा अहिले करिब पाँच सय जनाले काम गरिरहेका छन् ।
कालंगा हाईड्रोपावरका कारण बुंगल नगरपालिकाका धेरै वडा र गाउँमा सडक विस्तार भइरहेको छ । नगरप्रमुख धनबहादुर बिष्टले भने– हाइड्रोपावरले नै ४५ किलोमिटर सडक आफ्नै लगानीबाट कटान गरी यातायात सञ्चालन गरेको छ ।
नगर प्रमुख बिष्टले जलविद्युत आयोजनाले निर्माण गरेको सडकका कारण वर्षेनी खोलाले गर्ने कटान पनि धेरै हदसम्म नियन्त्रण भएको बताए ।
कालंगा हाइड्रोपावर प्रालिका निर्देशक शिवप्रसाद घिमिरेले बझाङमा जलविद्युतको निकै सम्भावना रहेको बताए । उनले एक वर्षको अवधिमा आयोजनाको ३० प्रतिशत काम पुरा भइसकेको बताए । ‘हामी चार वर्षभित्र काम पुरा गरी विद्युत उत्पादन र वितरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’ उनले आयोजनाको ७० प्रतिशत काम पुरा भएपछि स्थानीयलाई २५ प्रतिशत सेयर वितरण गर्ने योजना रहेको बताए ।
कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैक, एन एम विकास बैंक, सिविल बैक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ । उनले काम पुरा भएपछि दार्चुलाको चमेलिया विद्युत प्रसारण लाइनमा जोडिने बताए ।
कम्पनीका सञ्चालक खगेश्वर बोहराका अनुसार अपर कालंगा, सानिगाड, कालंगा र बुंगलमा गरी चार वटा ठाउँमा विद्युत उत्पादन गरिने छ । अपर कालंगामा ८.२, सानिगाडमा २.९ र कालंगामा ३.४ किलोमीटर सुरुङमार्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार