१४ कार्तिक २०८१, बुधबार

शिवपुरी महायज्ञ शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिंग धाममा बुधबारदेखि धुमाधामसंग श्रीमद् देवी भागवत प्रवचन तथा प्राणप्रतिष्ठा महायज्ञ शुरु भएको छ ।
महायज्ञको विशेष तथा भव्य समारोहबीच प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्लले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश प्रमुख मल्लले शिवपुरी धामलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सबै पक्षको सहयोग र समन्वयका लागि आग्रह गरे ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, स्वामी देवराज आचार्य लगायतले शिवपुरी धामको महत्त्व तथा सम्भावना बारे चर्चा गरेका थिए ।
बह्मनिष्ठ सन्त शिरोमणी लोकानन्द महाराजले शिवपुरीलाई अद्वितीय तीर्थस्थल बनाउने संकल्प दोहोर्‍याए ।
एक सय आठ फिट अग्लो ज्योतिर्लिङ तथा एक सय आठ वटा गौमुखी धारा रहेको शिवपुरी धाममा हरेक वर्ष महायज्ञको आयोजना हुँदै आएको छ । यस पटकको महायज्ञ आगामी १३ गतेसम्म संचालन हुने जनाइएको छ ।
उद्घाटन समारोहमा धामका बरिष्ठ उपाध्यक्ष बलदेव भट्टले गुरुयोजनासहित धामको विकास अघि बढाइएको बताए ।
उद्घाटन कार्यक्रम धामका अध्यक्ष श्याम तायलको अध्यक्षतामा भएको थियो ।
यसअघि, बिहान भव्य कलशयात्रा भएको थियो । ठूलो संख्यामा महिला सहभागी भएको कलशयात्रा शहीदगेटबाट शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार