१२ पुष २०८१, शुक्रबार

अस्पताललाई आवास गृह हस्तान्तरण



धनगढी । बझाङ जिल्ला अस्पताललाई नौ कोठाको सुविधासम्पन्न आवास गृह हस्तान्तरण गरिएको छ । निक साईमन्स ईन्स्टिच्युट नामक संस्थाले दुई करोड २० लाख रुपैयाँको लागतमा अस्पतालमा २४ सै घण्टा काम गर्ने स्वास्थ्यकर्मीहरूको लागि निर्माण गरेको सुविधासम्पन्न आवासगृह सोमबार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरियो ।
सो अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर सुशीलनाथ प्याकुरेलले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनुप रेग्मीलाई आवासगृहको चाबी प्रदान गरे ।
कार्यक्रममा प्मुख विशेषज्ञ डाक्टर. प्याकुरेलले २४ सै घण्टा डुयुटीमा रहने कर्मचारीहरूलाई मात्र आवासगृहको सुविधा दिन आग्रह गरे । उनले अहिले अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा सन्तोषजनक बन्दै गएको र उनले गुणस्तरिय सेवा प्रदान गर्नु अस्पतालको दायित्व भएकाले स्वास्थ्यकर्मीहरुलाई कुनै पनि कमजोरी नगर्न निर्देशन दिए ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर अनुज भट्टचनले स्वास्थ्य सबै मानिसको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नु अस्पतालको कर्तव्य रहेको बताए ।
बझाङ प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले स्वास्थ्य अति आवश्यक विषय भएकोले सबै पक्ष यसप्रति संवेदनशिल बन्नुपर्ने बताए ।
कार्यक्रममा जयपृथ्वी नगरपालिका प्रमुख विरेन्द्रबहादुर सिंह, निक्स साईमन्स ईन्स्टिच्युटका कार्यकारी अधिकृत डाक्टर अनिलबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार