सन्यासी हत्या गर्ने पक्राउ
धनगढी । सन्यासी चन्द्र गिरीको हत्या गरी फरार भएका नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । नारायण पनि सन्यासी (जोगी) हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा रहेको वनदेवी मन्दिरमा बस्दै आएका सन्यासीहरूबीच गत शुक्रबार विवाद चर्केपछि नारायणले चन्द्रको हत्या गरेको बताइएको छ ।
प्रहरीले शनिबार बिहान कैलालीको अत्तरियाबाट नारायणलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले बताए ।
३२ वर्षीय नारायणले ४५ वर्षीय चन्द्रमाथि चिर्पटले हिर्काएको बताइन्छ । मन्दिरमा रहेका अन्य जोगीहरू आरतीमा मग्न रहेकोले ती दुई जनाबीचको झगडाबारे थाह नपाएको बताए ।