चमेलिया जलविद्युत आयोजनाको उद्घाटन
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेश जलस्रोतमा निकै धनी रहेको बताएका छन् । शनिबार दार्चुलामा चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलस्रोतको समुचित उपयोगबाट प्रदेश नम्बर ७ सबभन्दा समृद्ध बन्ने विश्वास व्यक्त गरे ।
चमेलिया जलविद्युत निर्माणको काम सफलतापूर्वक पुरा भएकोमा सबै सहयोगी निकायलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने– आज चमेलिया उद्घाटन भएकोमा म धेरै खुशी छु । उनले कर्णाली, महाकाली, सेती, बुढिगंगा नदीसहित प्रदेश नम्बर ७ मा अपार जलस्रोत रहेको दोहोर्याए ।
नेपालको आफ्नै लगानीमा निर्माण चमेलिया ३० मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना हो । बैतडी र दार्चुलाको सिमा नदी चमेलियामा २०६३ सालको पुसदेखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुसदेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।
निर्माण सुरु भएको ११ वर्षपछि चमेलियाबाट बिजुली उत्पादन सुरु भएको छ । २०६८ सालमा निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको भए पनि पटकपटक म्याद थप गर्दै छ वर्ष ढिलो गरि सम्पन्न भएको छ ।
छ वर्ष निर्माण अवधि बढेसंगै आयोजनाको लागत पनि बढेको छ । शुरुमा साढे आठ अर्ब रुपैयाँ अनुमान लागत रहेकोमा पुरा हुन्जेल १६ अर्ब रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।