६ कार्तिक २०८१, मंगलवार

सभामुखमा थापाको एक्लो उम्मेदवारी



धनगढी । प्रदेश नम्बर सातको प्रदेश सभामुख पदमा बझाङ जिल्लाको प्रदेश सभा क बाट निर्वाचित सांसद अर्जुनबहादुर थापाको एक्लो उम्मेदवारी परेको छ ।
संसद सचिवालयले शनिवार साँझ ५ बजेसम्म उम्मेदवारी दिने समय तोकेकोमा थापाको मात्र उम्मेदवारी परेको सचिव मुरारी महतले बताए । नेकपा (एमाले) का पुराना नेता थापालाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।
थापाको उम्मेदवारीमा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी प्रस्तावक र माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा सांसद त्रिलोचन भट्ट समर्थक रहेका छन ।
थापाको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी संसदको वैठकमा निर्णयार्थ लैजानु पर्ने छ सचिव महतले भने आइतवार दावी विरोधको समय तोकिएको छ । संसदको वैठक २९ गते सोमवार दिउँसो १ बजे हुने भएको छ ।
प्रदेश सभा सभामुखमा मनोनय दर्तापछि संचारकर्मीहरूसँग कुरा गर्दै अर्जुनबहादुर थापाले आफूले सभामुखको गरिमामा रहेर निस्पक्ष रुपमा काम गर्ने बताए । आफूसंग धेरै तहमा नेतृत्व प्रदान गरेको अनुभव रहेको बताउँदै थापाले सत्ता र प्रतिपक्ष सबैसंग सल्लाह र समन्वय गरेर संसदलाई अगाडि बढाउने बताए ।
६२ वर्षीय थापा एमाले बझाङका पूर्वअध्यक्ष समेत हुन । प्रदेश नम्बर सातमा माओवादी नेतृत्वमा सरकार गठन हुने र सभामुख एमालेले लिने बाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको प्रदेश कमिटीले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउन केन्द्रमा सिफारिस गरिसकेको छ ।
प्रदेश सभामा बाम गठबन्धनको बहुमत छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सांसद छन् ।
दलहरूले संसदीय दलको नेता भने चयन गरिसकेका छैनन् । एमाले, काँग्रेस र राष्ट्रिय जनता पार्टीले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।
माओवादीले भने डोटीबाट निर्वाचित भट्टलाई संसदीय दलको नेता बनाउने यसअघि नै तय गरिसकेको छ । यद्यपि यसबारे माओवादीभित्र तीब्र विवाद छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार