२३ बैशाख २०८१, आईतवार

भ्रष्टाचारको जालो नहटाएसम्म मुलुक बन्दैन: नेपाल



धनगढी । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचारको जालो नहटाएसम्म मुलुक आर्थिक रुपमा समृद्ध हुननसक्ने दोहोर्‍याएका छन् ।
शुक्रबार धनगढीमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौं केन्द्रीय सभाको उद्घाटन गर्दै बरिष्ठ नेता नेपालले सबै मिलेर भ्रष्टाचारको जालो हटाउनु पर्ने बताए ।
‘जताततै कमिसन र घुसखोरी छ’ उनले भने– मुलुकको भविष्य उज्यालो पार्ने हो भने हामी सबैले भ्रष्टाचारको जरो उखेलेर फाल्नै पर्छ ।
पूर्व प्रधानमन्त्री नेपालले ‘झोलामा खोला’ राखेर जथाभावी जलविद्युत आयोजनाका नाममा लाईसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भएकोले नेपालमा उर्जा संकट निम्तिएको चर्चा गरे । भने– ‘झोलामा खोला’ राख्न पल्केकाहरूले नेपालमा उर्जा संकट निम्ताएकाले यस्तो बदमासी गर्नेहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।
उनले देश विकासका सबै काम अगाडी बढाउन बिजुली आवश्यक पर्ने भएकोले जलविद्युत उत्पादनमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गरे । ‘विजुली नभई कुनै पनि काम अगाडी बढ्न सक्दैन’ उनले पहिले विद्युत उत्पादन बढाएर विकासका अन्य कामहरु दु्रत गतिमा अगाडी बढाउनु पर्ने बताए ।
कार्यक्रममा एमाले सचिव तथा पूर्व उर्जामन्त्री गोकर्ण विष्टले विद्युत विकासले देशको समृद्धी ल्याउने भएकोले सरकारले विद्युतको विकासमा ध्यान र महत्व दिन जरुरी रहेको बताए ।
माओवादी नेता तथा अर्का पूर्व उर्जामन्त्री टोपवहादुर रायमाझीले विद्युत क्षेत्र र समग्र देशको विकासका एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको चर्चा गरे ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले नेपालमा नीजि तथा सरकारी तवरबाट विद्युत उत्पादनमा लगानी बढाउनु पर्ने बताउदै नौ अर्व घाटाबाट विद्युत प्राधिकरण नाफामा जान थालेको बताउनुभयो ।
उनले नेपालमा नीजि तथा सरकारी तवरबाट विद्युत उत्पादनमा लगानी बढाउनुको विकल्प नभएको बताए ।
कार्यक्रममा देशभरीका एक हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रम यूनियनका अध्यक्ष रामेश्वर पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार