२ आश्विन २०८१, बुधबार

थापा सभामुख हुने



धनगढी । सात नम्बर प्रदेश सभाको सभामुखका लागि नेकपा (एमाले)ले बझाङका प्रदेश सांसद अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित भएको छ ।
शनिबार हुने सभामुख पदको मनोनयनका लागि शुक्रबार साँझसम्म थापालाई आधिकारिक रूपमा उम्मेदवार बनाइने बताइएको छ ।
एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावल र सहसंयोजक कर्णबहादुर थापाले सभामुखको उम्मेदवारको टुंगो लगाउने बताइएको छ । ‘दुवै नेता सांसद थापाका पक्षमा सकारात्मक हुनुहुन्छ’ एमाले स्रोतले भन्यो– ‘उनको उम्मेदवारीबारे औपचारिक रूपमा मात्र घोषणा बाँकी छ ।’
७ नम्बर प्रदेश सभा (संसद) को सभामुखका लागि भोलि (शनिबार) मनोनयनपत्र दाखिला र २९ गते सोमबार चुनाव हुने कार्यक्रम छ ।
प्रदेश सभा संसदमा एमालेका २५ र माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राजपाका दुई जना सांसद छन् ।
अनुमोदनसँगको कुराकानीमा नेता थापाले आफूले प्रदेश सभामुख हुने आकांक्षा राखेको बताए ।
६२ वर्षीय थापा बझाङ क्षेत्र नम्वर १ (क) बाट विजयी सांसद हुन् । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा एमाले बझाङका अध्यक्ष समेत रहिसकेका छन् । उनी २०५६ को आमचुनावमा थोरै मतले प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक थापा २०५६ सालसम्म शिक्षण पेशामा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार