प्रदेश मन्त्रीपरिषद् कार्यालयले काम थाल्यो



धनगढी । ७ नम्बर प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले औपचारिक रूपमा काम कारबाही शुरु गरेको छ ।
धनगढीस्थित यातायात व्यवस्था कार्यालयको निर्माणाधीन नयाँ भवनमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मंगलबारदेखि काम कारबाही शुरु गरेको हो ।
प्रदेश मन्त्रीपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले आवश्यक सामग्रीसहित काम अघि बढाइएको बताए ।
प्रदेश मन्त्रीपरिषद् कार्यालयको अन्तरिम व्यवस्थामा प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दरबन्दी अनुसारको दुई सचिव, उपसचिव, नायवसुब्बा लगायतका कर्मचारी, कम्प्युटर अपरेटहरूको दरबन्दी पूरा गरिएको छ । मन्त्रीपरिषद् कार्यालयमा सचिवसहित २९ जना कर्मचारीको दरबन्दी रहेको छ ।
प्रदेश नम्बर ७ मा रहने सात वटै मन्त्रालयले मन्त्रीपरिषद् गठन हुनु अगावै गरिसक्नुपर्ने र पूर्व तयारी गर्नुपर्ने कामहरू गरिरहेको जनाइएको छ । मन्त्रीपरिषद्मा पेस गर्नुपर्ने सार्वजनिक लेखा प्रमाणिकरण निमायमावली, प्रदेश सरकारको कार्यसम्पादन नियमावली र प्रदेश सरकारको कार्य विभाजन नियमावली मन्त्रीपरिषदको बैठकमा पेस गर्नुपर्ने भएकाले त्यसको पूर्वतयारी कार्यालयले गरिरहेको सचिव कँडेलले जानकारी दिए ।
सोमबार बसेको सचिव स्तरीय बैठकले सबै मन्त्रालयको कर्मचारी आउन बाँकी र खटाउन बाँकी कर्मचारीलाई तत्काल खटाई दिन प्रधानमन्त्रीको कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा अनुरोधपत्र पठाउने निर्णय भएको उनले बताए ।
बैठक प्रदेशका प्रमुख सचिव लक्ष्मीराज पौडेलको अध्यक्षतामा बसेको थियो । बैठकमा हाल उपलब्ध भएका प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका दुई जना सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, भूमिसुधार मन्त्रालयका निमित्त सचिव समेतको सहभागितामा महत्त्वपूर्ण निर्णय गरिएको छ ।
बैठकले हरेक महिनाको पहिलो हप्ता उपयुक्त दिन समयमा मुख्यमन्त्रीको कार्यालयमा सचिव स्तरीय नियमित मासिक बैठक बस्ने, हरेक मन्त्रालयले आफ्नो मन्त्रालयको कर्मचारी बैठक र सुशासन ईकाईको संयुक्त मासिक बैठक बस्ने र मातहातको निकायको वार्षिक कार्यक्रम, प्रगति, देखिएका समस्या, समाधान विषयमा प्रतिवेदन पेश गर्नुपर्ने, कार्य सम्पादन नियमावली पास भएपछि मन्त्रालयहरूले प्रस्तावका रूपमा निर्णयार्थ केही प्रस्तावहरू पेश गर्नुपर्ने लगायतको निर्णय गरेको उनले बताए ।
सात वटा मन्त्रालय रहेको ७ नम्बर प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूको मात्र उपस्थित रहेका छन् । अन्य पाँच वटा मन्त्रालयका सचिवहरूको आउने क्रम रहेको मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ ।
७ नम्बर प्रदेशमा २९ गते सभामुख चयन हुँदै छन् । सभामुख चयन भएपछि मुख्यमन्त्री र मन्त्रीपरिषद गठन प्रक्रिया शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्