दलित वस्तीमा विकासे योजना बनाउँदै सासंद
बाजुरा । बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा यति बेला बाजुराका दुर्गम गाउँ वस्तीमा व्यस्त रहेका छन् । सबै प्रदेश सभा सासंद, प्रतिनिधि सभा सांसद केन्द्र र प्रदेशमा पदका लागि दौडधुप गरिरहेका छन् । तर सासंद लालबहादुर थापाले भने दुर्गम वस्तीमा गएर जनता र जनप्रतिनिधिसँग विकासे योजना बनाइरहेका छन् ।
बाजुरा देशकै सबैभन्दा गरिबी जिल्ला हो । त्यसैमा दलित समुदाय निकै पछाडि रहेका छन् । त्यहि दलित वस्तीमा गएर जनतासँग प्रत्यक्ष छलफल गरेर विकासे योजना बनाइरहेको एमाले प्रचार विभाग प्रमुख अम्मर खड्काले बताएका छन् । उनले स्थानीय जनप्रतिनिधि र जनतालाई राखेर गाउँका समस्याका बारेमा छलफल गरेर योजना निर्माण गर्दै आएको बताए । थापा विजय भइसकेपछि दुईपटक बाजुराका दुर्गम गाउँमा गएर जनतासँग छलफल भेटघाट गरिसकेका छन् । ९ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय निकायका गाउँ वस्तीमा पुगिसकेका छन् ।
मंगलबार बडिमालिका नगरपालिका ९ मा रहेको दलित वस्तीमा गएर दलित समुदायसँग छलफल गरे । नगरपालिका कार्यकारी, वडा अध्यक्ष लगायत अन्य सरोकारवाला निकाय राखेर जनतासँग छलफल गरेको वडा अध्यक्ष विनोद विकले बताएका छन् । टोलमै पुगेर जनताका समस्या बुझे अनि कसरी जाने भनेर नगरपालिका प्रतिनिधि वडा अध्यक्ष राखेर रणनीतिक योजना तयार गरेको विकले बताए । स्थानीय काल्चे लुवारले भने धेरैलाइ भोट हालियो तर चुनाव जितिसकेपछि सांसद पहिलो पटक गाउँ आएको बताए ।