२९ पुष २०८१, सोमबार

काँग्रेस संसदीय दलको नेता चयन चर्चा



धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभा शुरु भएसंगै नेपाली काँग्रेसमा प्रदेश संसदीय दलको नेता चयनका लागि चर्चा व्यापक बन्दै गएको छ । प्रदेश सभामा काँग्रेसका १२ जना सांसद रहेका छन् । काँग्रेस केन्द्रीय कार्यालयले प्रत्येक प्रदेशमा संसदीय दलको नेताका लागि केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

प्रदेश संसदीय दलको नेताका लागि चर्चामा रहेका कैलाली क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले आफू सर्वसम्मत रुपमा निर्वाचित हुने विश्वास व्यक्त गरे ।

सोमबार अनुमोदनसंगको कुराकानीमा काँग्रेस नेता डाक्टर रावलले आफूलाई पार्टीका अधिकांस सांसदको समर्थन रहेको बताए ।
‘काँग्रेसले प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने छ’ उनले भने– यसका लागि हामी सबै एकजुट भएर सशक्त तथा रचनात्मक प्रतिपक्षको भूमिकाका लागि तत्पर छौं ।
उनले कैलाली र कञ्चनपुरमा केही समययता सिर्जना भएको थारु तथा पहाडीबीचको विवादको तर्कपूर्ण निकासका लागि आफू सधैं गम्भीर र संवेदनशील रहेको बताए । उनले भने– प्रदेश नम्बर ७ मा रहेको जातीय तथा क्षेत्रीय विविधतालाई एकतावद्ध बनाएर प्रदेशको तीब्र आर्थिक समृद्धि हामी सबैको लक्ष्य हुनुपर्दछ ।
लामो समयदेखि राष्ट्रिय विकास परिषद्का सदस्यका रूपमा भूमिका निर्वाह गर्दै आएका नेता रावलले ७ नम्बर प्रदेशको समग्र आर्थिक समृद्धिका लागि आफूले राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा आर्जन गरेको अनुभवलाई उपयोग गर्ने बताए ।
नेता डाक्टर रावलले प्रतिनिधि सभाका पाँच र प्रदेश सभामा १० सिट भएको जिल्ला कैलालीको प्रतिनिधि भएकाले मात्रै नभएर समग्र ७ नम्बर प्रदेशको आर्थिक विकासका साथै सबै पक्षबीच समन्वय र सन्तुलन मिलाउनका लागि आफूलाई संसदीय दलको नेताका रूपमा अवसर दिन कांग्रेस नेतृत्व तथा सांसदहरूमा आग्रह गरे । ‘अहिले संख्यात्मक रूपमा काँग्रेसको कम सिट छ, तर काँग्रेसले नै दीगो शान्ति स्थापना र संविधान जारी गर्न निर्णायक भूमिका निर्वाह गरेको छ’ उनले भने– म काँग्रेसको साख बृद्धि सधैं क्रियाशील रहिरहने छु ।
फिलिपिन्सबाट स्नातकोत्तर र भारतको देहरादूनबाट प्राकृतिक व्यवस्थापनमा विद्यावाधिरी गरेका डाक्टर रावलले जहिले पनि राज्यबाट विभेदमा पारिएको ७ नम्वर प्रदेशको तीब्र आर्थिक समृद्धिका लागि व्यापक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसको किल्ला मानिने कैलालीमा पछिल्लो निर्वाचनममा जिल्लाका प्रतिनिधि सभाका सबै पाँच सिट गुमाएको छ ।
१० वटा प्रदेश सभा सदस्य सिट रहेको कैलालीमा क्षेत्र नम्बर १ (ख) बाट डाक्टर रावल र क्षेत्र नम्बर ५ (ख) बाट डिल्लीराज पन्त मात्रै विजयी छन् । प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ ३२ सिट रहेको ७ नम्वरमा डोटीबाट भरतबहादुर खड्का र डडेल्धुराबाट कर्णबहादुर मल्ल विजयी छन् । कांग्रेसले समानुपातिक तर्फ आठ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार