३१ भाद्र २०८१, सोमबार

छाडापशु चौपाया बढेपछि अन्न त्याग्ने प्रण



कञ्चनपुर । कञ्चनपुरका स्थानीय बासिन्दाले गाईगोरु सडक र बजार क्षेत्रमा बेवारिसे रूपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।
घरपालुवा गाईगोरु सडकमा बेवारिस छोड्ने क्रम बढेपछि उनले अन्न ग्रहण त्यागको बताए । ‘सडकमा छोडिएका पशुचौपाया खानाको अभावमा मर्न थालेका छन्’ उनले भने– ‘गौहत्या भएको धर्तीमा अन्न खान सक्दिन ।’
भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगद्गुरुले देशव्यापी भ्रमण गरेका थिए । जगद्गुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए ।
भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरूले छाडिएका एक/एक गाई पाल्ने माग गरेका हुन् । जगद्गुरुले औपचारिक कार्यक्रममा इच्छुक व्यक्तिलाई गाईपालनको जिम्मेवारी दिने सोच बनाए ।
स्थानीयवासीले घरमा पालेका गाई–गोरुसमेत सडकमा पुगाउन थालेपछि भीमदत्तमा छाडा गाई–गोरुको समस्या विकराल बनेको छ । भीमदत्त नगरपालिकाले छाडा गाई–गोरु व्यवस्थापनका लागि निर्देशिका बनाएर व्यवस्थापन कार्य अघि बढाएको छ ।
जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाएका छन् ।
नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोग विहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार