२८ पुष २०८१, आईतवार

प्रदेश सांसदको अनुभवमा प्रदेश सभा बैठकको पहिलो दिन



दीर्घबहादुर सोडारी (कैलाली)
पहिलो बैठक शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संसदीय प्रणाली अहिलेको सबैभन्दा राम्रो व्यवस्था भएको मानिएको कारणले गर्दा यो ऐतिहासिक बैठकमा सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

 

डाक्टर रणबहादुर रावल (कैलाली)
यस प्रदेश तीब्र आर्थिक समृद्धि हाम्रो मुख्य लक्ष्य हो र हुनुपर्दछ । आजदेखि शुरु भएको प्रदेश सभाको बैठक वास्तव मै ऐतिहासिक छ । प्रदेश शासन जनताको पक्षमा सञ्चालन गर्न र सुशासन कायम गर्न संसदमा बलियो र रचनात्मक प्रतिपक्षको भूमिका आवश्यक रहेको बताए । हामी (काँग्रेस) ले प्रदेश शासन तथा प्रदेश सभालाई सफल बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने छौं ।

 

झपटबहादुर बोहरा (अछाम)
नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन भएर आज ७ नम्बर प्रदेश सभाको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रदेश सभाको संसदको हैसियतले मैले आफूलाई जिम्मेवारी बोध गरेको छु । आगामी दिनमा मबाट मेरो क्षमताअनुसार म सुदूरपश्चिमको जनताको समृद्धिमा लागिरहने छु । आर्थिक विकासबाट अगाडि गएर नेपाली जनतालाई आर्थिक समृद्धितिर डोर्‍याउने प्रदेश सरकार र प्रदेश संसदहरूको काम र कर्तव्य हुन्छ भन्ने मैले बुझेको छु ।

 

तारा लामा तामाङ (कञ्चनपुर)
नेपालको संविधान बमोजिम हामी प्रदेश सभाको नयाँ अभ्यास गर्न गइरहेका छौं । प्रदेशको पहिलो बैठक ऐतिहासिक क्षण हो । यो ऐतिहासिक क्षणले हामीलाई उत्साहित बनाएको छ । हामीलाई उत्साहित बनाउनुका साथै ७ नम्बर प्रदेशको समग्र विकासको जिम्मेवारी पनि थपिएको छ ।

 

अमरबहादुर साउँद (कैलाली)
पहिलो संसद बैठक रमाइलो लागेको छ । निर्वाचित भएको दुई महिनापछि बैठक बसेको छ । यस्तै गतिले गयो भने आगामी दिनमा कस्तो होला । जे भए पनि २९ गते हामीले सभामुख पाउने छौं । राष्ट्रिय चुनाव लगत्तै अन्य प्रक्रियाहरू पनि अघि बढ्ने छन् ।

 

 

अर्जुनबहादुर थापा (बझाङ)
हामी नयाँ संविधानलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौं । वास्तवमा प्रतिनिधि सभाका धेरै बैठकहरूको अवलोकन गरिसकेकाले खासै अनौठो जस्तो नभई सहज जस्तो लागेको छ । तर, पनि हाम्रो काँधमा नयाँ जिम्मेवारी आएको हुनाले धेरै कुरामा गहनताका साथ लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार