विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइयो



धनगढी । कैलाली सहित देशभरी मंगलबार विभिन्न कार्यक्रम सहित शहीद दिवस मनाइएको छ ।
प्रजातन्त्र स्थापना, पुनस्र्थापना तथा स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका क्रान्ति, आन्दोलन र संघर्षका क्रममा जीवनको आहुति दिने वीर सपुतहरूको सम्झानामा, शहीदको सालिकमा माल्यार्पण, प्रभातफेरी, प्रवचन, कविता प्रतियोगिता लगायतका कार्यक्रम भएका थिए ।
कैलालीको धनगढीमा बिहान प्रभातफेरीको आयोजना गरिएको थियो । माघ १० गतेबाट शुरु भएको सप्ताहव्यापी शहीद दिवसको अन्तिम दिन मंगलबार धनगढीको अमर शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरियो ।
प्रदेश सभा सदस्य डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, उच्च सुरक्षा अधिकारीहरू, राजनीतिकर्मी लगायतले शहीद दशरथको सालिकमा माल्यार्पण गरेका थिए ।
शहीद दिवसका अवसरमा आयोजित सभामा प्रदेश सभा सदस्य पन्तले वीर नेपाली सपुतहरूको बलिदानका कारण नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा सफल भएको चर्चा गरे । प्रदेश सांसद पन्तले झण्डै सात दशक लामो राजनीतिक संघर्ष निष्कर्षमा पुगिसकेकोले अब तीब्र आर्थिक तथा सामाजिक उन्नतिको यात्रामा एकजुट भएर लाग्नुपर्ने बताए ।
धनगढी उपमहानगरपालिका उपप्रमुख मिश्रले शहीदहरूको बलिदानबाट प्राप्त लोकतन्त्रलाई संस्थागत बनाउँदै सुशासन, राजनीतिक स्थिरता तथा समृद्धिका लागि सबै पक्ष गम्भीर हुन आग्रह गरिन् ।
नागरिक स्वतन्त्रताको माग गर्दा जहानिया राणाशासकले बिक्रम सम्वत १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुमा रहेको पचलीमा मृत्युदण्ड दिएका थिए । त्यस्तै, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।
शहीदहरूको सम्मान तथा सम्झनामा राज्यले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्