आज शहीद दिवस
काठमाडौं । आज शहीद दिवस । मुलुक र जनताको हकअधिकारका लागि प्राण आहुति दिने वीर शहीदहरूका स्मरणमा २०१२ देखि माघ १६ गते शहीद दिवस मनाइने गरिएको छ ।
सरकारले माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसहित शहीद सप्ताह मनाउँदै आएको छ । २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा कार्यक्रम आयोजना हुने गरेको छ ।
बिक्रम सम्वत १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको थियो ।
शहीद दिवसका अवसरमा आज काठमाडौंको शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरीको कार्यक्रम रहेको जनाइएको छ ।
नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने शहीदहरू शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई शहीद घोषणा गरी शहीद दिवस मनाउने गरेको छ ।