सन्दीप इण्डियन प्रिमियर लीगमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लीग (आइपिएल) मा खेल्नका लागि छानिएका छन् । आइपिएल खेल्ने उनी पहिलो नेपाली क्रिकेटर बनेका छन् । लेग स्पिनर १७ वर्षीय सन्दीपलाई दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा किनेको छ ।
भारतको बेङ्गलोरमा शनिबारबाट अक्सन शुरु भएको थियो । गत साता आइपिएलको अक्सनमा सहभागी हुने पाँच सय ७८ क्रिकेटरको नामावली प्रकाशित हुँदा सन्दीप दुई सय ७६ औं नम्बरमा परेका थिए ।
१७ वर्षको कलिलो उमेरमा राष्ट्रिय टोलीमा परेका सन्दीपलाई क्लवमा अनुबन्ध गरे पछि दिल्ली डेयरडेभिल्सले ट्विट गर्दै भनेको छ– ‘नेपालबाटै आइपिएल खेल्ने पहिलो खेलाडी बनेका १७ वर्षीय लेग स्पिनर सन्दीपलाई अनुबन्धन गर्न पाउनु टिमका लागि निकै राम्रो हो ।’
क्लव क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा पर्न सफल नेपाली उदयमान क्रिकेटर सन्दीप दुई वर्षअघि भएको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्याण्डसँगको खेलमा ह्याट्रिक लिएपछि एकाएक विश्वभर नै चर्चाको केन्द्र बनेका थिए ।
उनले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका गरेका हुन् । उनले २०१६ को सेप्टेम्बरमा नामिवियासँगको खेलमा राष्ट्रिय टोलीको सदस्यका रूपमा डेब्यू गरेका थिए ।
सन्दीपलाई अष्ट्रेलियाका महान लेग स्पिनर सेन वार्नसँग तुलना पनि गर्ने गरिएको छ । आइपिएलमा पर्न सफल भएपछि अष्ट्रेलियाली खेलाडी माइकल क्लार्कले ट्विट गर्दै भनेका छन्– ‘म आइपिएलको अक्सनमा अथवा कुनै टोलीमा भएको भए सन्दीपलाई अनुबन्धन गर्ने थिए ।’
क्लार्कले जब त्यस्तो ट्विट गरे त्यसपछि झन सन्दीपको ब्यापक चर्चा चुलिएको थियो ।
१४ वर्षको कलिलो उमेरमा तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले ट्यालेन्ट हण्टबाट उनको खेलमा प्रभावित भएर चितवनबाट सन्दीपलाई काठमाडौं बोलाएका थिए । सन्दीपलाई पुबुदुले काठमाडौं बोलाउनु नै उनको खेल जीवनको टर्निङ प्वाइन्ट मानिन्छ ।