बाम गठबन्धनमा मुख्यमन्त्री लगायतका पदमा सहमति
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकार प्रमुख (मुख्यमन्त्री), प्रदेश सभामुख र उपसभामुख सिटको बाँडफाँटमा सहमति भएको छ ।
दुवै दल (बाम गठबन्धन) को कार्यदल बैठकले आइतबार २ नम्बर प्रदेश बाहेक अरू सबै ६ प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख सिटको बाँडफाँटको टुंगो लगाएको छ । प्रदेश नम्बर ७ तथा ६ मा माओवादी केन्द्रले सरकारको नेतृत्व (मुख्यमन्त्री) गर्ने सहमति भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदल बैठकको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ मा नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्ने छ ।
त्यस्तै, प्रदेश नम्बर १, ३, ६ र ७ को सभामुख एमालेले पाउनेछ भने माओवादी केन्द्रले प्रदेश नम्बर ४ र ५ को सभामुख पाउने सहमति भएको एमालेबाट कार्यदल सदस्य सुवास नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिए ।
उपसभामुख भने एमालेले ४ र ५ गरी दुई प्रदेशमा मात्र पाउने भएको छ । माओवादीले भने चार वटा प्रदेश १, ३, ६ र ७ मा उपसभामुख पाउनेछ ।
प्रदेश सरकारमा मन्त्रीहरूको भागबन्डा एमाले र माओवादीले क्रमश: ७० र ३० प्रतिशत बाड्ने सहमति पनि बैठकमा भएको छ ।