सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग
धनगढी । धनगढीमा निर्माण भइरहेका केही सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिरहेको पाइएको छ ।
धनगढीको अदालत रोडमा निर्माणाधीन सडकको नाली निर्माणमा गुणस्तरहीन ईटाको प्रयोग गरिएको देखिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा धनगढी उपमहानगरपालिकाले नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १, वसन्तटोल चौकदेखि अदालत सडकसम्म रिटेनिङ वाल, नाली निर्माण र कालोपत्रे गर्ने कार्य भइरहेको छ । सो सडक निर्माण योजना अन्तर्गत नालीका लागि प्रयोग भएका ईटा गुणस्तरहीन पाइएको छ ।
चार सय ३० लामो नाली निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले काचो ईटा (४ नम्बर) प्रयोग गरेको छ ।
नाली निर्माणमा गुणस्तरहीन ईटा प्रयोग भइरहेकोबारे स्थानीयको गुनासो बढेपछि बिहीबार वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी निर्माणस्थल पुगेका थिए ।
वडाध्यक्ष मुडभरीले निर्माण कार्यमा गुणस्तरहीन ईटाको प्रयोग गरेको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिएका थिए । वडाध्यक्ष मुडभरीले निर्माण ठेकदार भूमिराज कन्स्ट्रक्सनलाई गुणस्तर सुधार नगरेसम्मका लागि काम रोक्न निर्देशन पनि दिए ।
‘नाली निर्माणका लागि बाहिर राखिएको ईटा फिर्ता गर्न र सो ईटा प्रयोग गरेर निर्माण भइसकेका स्थान भत्काउन निर्देशन दिएको छु’ वडाध्यक्ष मुडभरीले भने– ‘निर्माण कम्पनीले अटेर गरेर काम अघि बढाएमा कालोसूचीमा राखिने छ ।’
उनले कम्पनीले ठेक्का लिएदेखि नै विवादमा आइरहेको बताए । वडाध्यक्ष मुडभरीका अनुसार धनगढी उपमहानगरपालिकाले सो कम्पनीलाई पाँच/छ पटक सुधार गर्न ठाडो निर्देशन दिएको भए पनि अझै पनि कमसलको काम गरिरहेको छ ।
नेपालको कानुन कमजोर भएका कारणले पनि निर्माण कम्पनीको कमजोरीलाई न्यूनीकरण गर्न नसकिएको उल्लेख गर्दै वडाध्यक्ष मुडभरीले भने– ‘गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कानुनमा कालोसूचीमा राख्नेबाहेक अन्य व्यवस्था गरेको छैन ।’
गुणस्तरहीन ईटा प्रयोग हुनुमा कसको कमजोरी देखिन्छ ? सञ्चारकर्मीको जिज्ञासामा उनले भने– ‘गलत गर्ने मनसायले नै काम गरेका छन् भने दुबै दोषी देखिन्छन् ।’ उनले कुनै निर्माण योजनामा ठेकेदारले नै केही मात्रामा कमसल खालको ईटा मगाउने र कुनैमा ईटा व्यावसायी आफैले नै कमशल खालको ईटा पठाउने गरेको पाइएको बताए ।
सो योजनाकी सुरेखा कार्कीले सो योजनामा आफूले अरूलाई जिम्मा दिएको र जिम्मा पाएको व्यक्तिले कमसल ईटा प्रयोग गरेको दावी गरिन् । उनले निर्माण भइसकेको स्थानमा गुणस्तरहीन ईटा प्रयोग नभएको र अहिले निर्माणस्थलमा राखिएको ईटा कमसल खालको रहेकोले ती ईटा फिर्ता गर्ने बताइन् ।
धनगढी उपमहानगरपालिकाको नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सञ्चालन भएको सो योजनाको लागत ५१ लाख रुपैयाँ बढी भए पनि निर्माण कम्पनीले ३५ लाख ३४ हजार सात सय ७२ रुपैयाँमा ठेक्का कबुल गरेको जनाइएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को असार मसान्तभित्रै निर्माण कार्य पूरा गर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि निर्माण कम्पनीले हालसम्म निर्माण कार्य पूरा गर्न सकेको छैन ।
‘गत असार मसान्तमा काम सम्पन्न नभएपछि छ महिना म्याद थप गरिएको थियो’ धनगढी उपमहानगरपालिकाका ईन्जिनियर द्विजराज भट्टले भने– ‘वर्षायाम, ढुंगा, बालुवा र गिट्टी निकासीमा रोक लगायतका कारण मंसिर मसान्तसम्म पनि काम पुरा भएन ।’ इन्जिनियर भट्टले पुन: तीन महिनाको म्याद थप गरिएको जानकारी दिए ।
निर्माण कम्पनीले फागुन मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म झण्डै ५० प्रतिशतसम्म मात्र काम भएको छ । सो सडक कालोपत्रे, नाली निर्माण लगायतको काम अझै गर्न बाँकी रहेको छ । धनगढी उपमहानगरपालिकाका अनुसार सो सडकको लम्बाई एक सय चार मिटर र चौडाई छ मिटर रहेको छ ।