३ आश्विन २०८१, बिहीबार

पञ्चदेवल महोत्सव हुँदै



धनगढी । अछामको पर्यटकीय स्थल पञ्चदेवल, बिनायकमा पञ्चदेवल दोस्रो महोत्सव पञ्चदेवल सञचालन हुने भएको छ । पञ्चदेवल बिनायक नगरपालिकाको आयोजनामा पञ्चदेवल क्याम्पसको विकासका लागि महोत्सव आयोजना गरिने जनाइएको छ ।
महोत्सव मूल आयोजक समितिले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी फागुन १८ गतेदेखि महोत्सव सञ्चालन हुने जानकारी दिइयो ।
‘पञ्चदेवल, स्थानीय उत्पादन, साहित्य, संस्कृति, शिक्षा र पर्यटन विकास’ भन्ने नारा सहित २०६९ सालमा सुरु भएको महोत्सवको दोस्रो संस्करण पाँच वर्षपछि हुन लागेको मूल आयोजक समितिका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।
उनले ऐतिहासिक चिनारी, स्थानीय कला, संस्कृतिको संरक्षण, पर्यटकीय स्थलको पहिचान तथा कृषि उत्पादनलाई बढावा दिने लगायतका उद्देश्यसहित दोस्रो महोत्सव आयोजना हुन लागेको बताए ।
उनले ७ नम्बर प्रदेशमा सामाजिक तथा सांस्कृतिक कुप्रथाका रूपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि पनि महोत्सवमार्फत भूमिका निर्वाह गरिने बताए । ‘छाउपडी प्रथा विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरी समाजबाट कुप्रथाको अन्त्य गर्न पहल गर्ने छौं’ उनले भने ।
आयोजक समितिका अध्यक्ष धामीले महोत्सवबाट उठेको रकम क्याम्पस सञ्चालनमा लगानी गरिने बताए । उनले महोत्सवको उद्घाटन राज्यको विशिष्ट व्यक्तिबाट गर्ने तयारी रहेको बताए । ‘राष्ट्रपति वा प्रधानमन्त्रीबाट महोत्सवको उद्घाटन गर्ने तयारी भइरहेको छ’ उनले भने– ‘उद्घाटन अगाडि विशिष्ट व्यक्तिलाई त्यस क्षेत्रमा रहेको छाउपडी कुप्रथाको अवलोकन गराइने छ ।’
महोत्सवमा स्थानीय उत्पादन, कृषि परिकार, स्थानीय कला संस्कृति, व्यापारिक सामग्री, ७ नम्बर प्रदेशका पर्यटकीय स्थलहरूको फोटो तथा पोष्टर प्रर्दशन लगायतका गरी ५० वटा स्टल रहने जनाइएको छ ।
महोत्सवमा दैलेख, बाजुरा, अछाम लगायतका स्थानबाट गरी झण्डै १० लाख मानिसले अवलोकन गर्ने अनुमान रहेको छ । ५० रुपैयाँ प्रवेश शुल्क रहेको महोत्सवले झण्डै एक करोड २० लाख बराबरको आम्दानी गर्ने अनुमान गरेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रदर्शन पनि रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार