छाडा पशुचौपाया नियन्त्रण : एक करोड रुपैयाँ बजेट छुट्याइयो



धनगढी । छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीका स्थानीय तहहरूले झण्डै एक करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहले छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि ९७ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
छाडा पशुचौपाया ठूलो समस्या बन्दै गएपछि नियन्त्रण गर्न कान्जी हाउस निर्माण, सामुदायिक वनभित्र तारजाली निर्माणबाट वैकल्पिक कार्य गर्न सो रकम विनियोजन गरिएको स्थानीय तहहरूले जनाएका छन् । छुट्याइएको रकमबाट खानेपानी, पराल, हेरालु लगायतमा खर्च गरिने जनाइएको छ ।

फाइल तस्बिर

छाडा पशुचौपाया नियन्त्रणका लागि कैलालीको चुरे र मोहन्याल गाउँपालिकाबाहेक अरू सबै ११ वा स्थानीय तहले रकम विनियोजन गरेको अनुमोदनलाई बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी र घोडाघोडी नगरपालिकाले १५/१५ लाख रुपैयाँ विजियोजन गरेको बताएका छन् ।
त्यस्तै, टीकापुर, गौरीगंगा र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले १०/१० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
लम्कीचुहा नगरपालिकाले ११ लाख रुपैयाँ र कैलारी तथा बर्दगोरिया गाउँपालिकाले पाँच/पाँच लाख र जोशीपुर गाउँपालिकाले एक लाख ९७ हजार रकम विनियोजन गरेको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ स्थित सामुदायिक वनमा तारजाली निर्माण गरी छाडा पशुचौपाया नियन्त्रण गरिरहेको नगर प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
गोदावरी नगरपालिकाले चार वटा वडामा रहेको सामुदायिक वनमा तारजाली लगाएर पशुचौपाया नियन्त्रणका लागि काम अघि बढाइसकेको नगरपालिका उपप्रमुख रत्ना कडायतले जानकारी दिइन् ।
उनका अनुसार नगरपालिकाको चार वडामा झण्डै सात सय र नगरपालिकाले दीर्घकालीन योजनासहित बनाएको भल्कास्थित सामुदायिक वनमा दुई सय ५० वटा पशुचौपाया राखिएको छ ।
गौरीगंगा नगरपालिकाले विनियोजन गरेको रकम प्रत्येक वडामा रहेका सामुदायिक वनलाई जिम्मा दिएको नगर उपप्रमुख अञ्चला चौधरीले बताइन् ।
नगरपालिकामा बसेको बैठकले प्रति वडाका सामुदायिक वनमा एक/एक लाख दिने र वनलेनै नगरपालिकाभित्र रहेका छाडा पशुचौपाया नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म चार वडाले काम गरेर भुक्तानी लगिसकेका छन् ।
टीकापुर नगरपालिकाले टीकापुर–५ स्थित रहेको सामुदायिक वनमा तारजाली गरेर झण्डै सात सय पशुहरू राखेको छ । नगरपालिकाले उपभोक्ता समितिलाई पशुहरूको हेरचाह, खानेपानी, पराल लगायतको व्यवस्था गर्न जिम्मेवारी दिएको जनाएको छ ।
घोडाघोडी नगरपालिकाले कान्जी हाउँस निर्माणमा रकम प्रयोग गरिरहेको नगरपालिकालका नगर प्रमुख ममताप्रसाद चौधरीले बताए । उनले नगरपालिकाको पहलमानपुर, साडेपानी र सुखड बजारमा कान्जी हाउस निर्माणको काम अघि बढाइसकेको र घरमा पालेका पशुहरूमा ट्याग लगाउने काम पनि अघि बढाइने बताए ।
लम्की नगरपालिकाले सामुदायिक वनमा तारजाली बनाएर सात सयभन्दा बढी पशुचौपाया राखेको जनाएको छ ।
भजनी नगरपालिकाले भजनी–९, पच्मुडियामा गौशाला निर्माण गरी साढे तीन सय भन्दा बढी पशु राखेको र चार जना हेराल राखेको नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले जानकारी दिइन् ।
कैलारी गाउँपालिका, जानकी गाउँपालिकाले सामुदायिक वनमा तारजाली निर्माण गरी पशु व्यवस्थापन गरिरहेको, बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायालाई पहाड पठाउने काम र जोशीपुर गाउँपालिकाले कान्जी हाउस निर्माण गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्