६ कार्तिक २०८१, मंगलवार

दुई पार्टी बीच एकता हुन्छ : उपाध्यक्ष रावल



धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले र माओवादी केन्द्र (दुई पार्टी) बिच एकता भएर छाड्ने बताएका छन् ।
‘दुई पार्टीबिच एकता हुँदैन कि भन्ने जुन आशंका छ त्यो मनबाटै तपाईहरू हटाईदिनुहोस्’ मंगलबार नेकपा एमाले ७ नम्बर प्रदेशका संगठन समितिले आयोजना गरेको प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले भने ‘जनताले देशमा स्थायीत्व चाहेका छन्, त्यही भएर बाम गठबन्धनलाई मत दिएका हुन । जनताको मतको कदर गर्न पनि पार्टी एकता गर्न जरुरी रहेको छ ।’ उनले देशमा स्थायीत्व नचाहने केही दलहरूले पार्टी एकता हुँदैन भन्ने हल्ला फैलाएको र हल्लाको पछि नलागि संगठनका सदस्यहरूले पनि पार्टी एकताको वातावरण बनाउन आह्वान गरे । उनले अब प्रदेश र केन्द्रमा बामगठबन्धनकै सरकार बन्ने बताए ।
उनले देशमा राजनीतिक आन्दोलनको अन्त्य भईसकेकोले विकास र समृद्धिमा देशलाई अघि बढाउन नयाँ योजना सहित निर्वाचित सांसदहरूले काम गर्नुपर्ने बताए ।
‘अब तपाई आफनो प्रदेशको सम्भावना, चुनौति र समाधानका बारेमा अध्ययन गरेर काम गर्नुहोस्’ पार्टीका ७ नम्बर संयोजक समेत रहेका रावलले भने ‘यदि तपाईले अध्ययननै नगरि पदभार गर्नु भयो भने जनताको हितमा काम गर्न सक्नु हुँदैन् ।’ उनले प्रदेशको प्रथम बैठक नभएसम्म यस ७ नम्बर प्रदेशको अध्ययन गर्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे ।
‘तपाईले कर्मचारी चलाउने हो, कर्मचारीले तपाईलाई होईन’ उनले भने ‘यदि तपाईमा क्षमता छैन भने कर्मचारीले तपाईलाई चलाउने छ ।’ उनले कर्मचारी चलाउन सांसदहरू योग्य, निष्ठवान, ईमान्दार र अध्ययनशिल हुनुपर्ने सुझाव दिए ।
उनले बामगठबन्धन सरकारको यात्राको आरम्भ भईसकेकाले अबको पाँच वर्षभित्र पार्टीले जारी गरेका घोषणापत्रका आधारमा देशलाई समृद्धितर्फ डोहोऱ्याउन जुट्नुपर्ने बताए । ‘यदि हामी पनि पुरानै सरकारको शैलिमा काम गर्न लाग्यौ र जनतालाई दिएको आश्वासन पुरा गर्न सकेनौं भने पाँच वर्षपछि पार्टीको अवस्था दयनिय बन्ने छ’ उनले भने ।
उनले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेकोले त्यसमा बामगठबन्धनका उम्मेदवारलाई विजयी गराउन पार्टीले २३ गते निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले पार्टीले ७ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाईसकेको पनि जानकारी दिए । उनका अनुसार यस प्रदेशबाट महिलाबाट कैलालीकी कमला ओली र कञ्चनपुरकी ईन्दु कडेरिया बिष्ट, खुल्लातर्फ अछामका शेरबहादुर कुँवर र दलितबाट डडेल्धुराका चक्रप्रसाद स्नेही रहेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित सांसद एंव पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले स्वागत गरेको कार्यक्रमको प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार