धुमधामसँग सरस्वती पूजा मनाइयो
धनगढी । विद्याकी देवी सरस्वतीको कैलाली सहित देशभरी सोमबार पूजाआजासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्लाका विभिन्न क्याम्पस, उच्च माध्यामिक विद्यालय, माध्यमिक विद्यालय, प्राथमिक विद्यालय, साहित्यिक संस्था, संगीतकला संस्था, सञ्चार गृह लगायतमा सरस्वतीको पूजा गरियो ।
सोमबार विद्यार्थी, साहित्यकार, सञ्चारकर्मी लगायतले बिहानै नुहाई धुवाई गरी सरस्वती भगवानको अराधना गरेको थिए ।
जिल्लाका अधिकांस विद्यालयहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरेक थिए ।
सोमबार घोडाघोडीमा रहेको सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । वसन्त पञ्चमी तर्थात् सरस्वती पूजाको अवसरमा घोडाघोडी मन्दिरमा समेत भक्तजनहरूको घुइचो लागेको बताइएको छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्त्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।