२८ पुष २०८१, आईतवार

प्रदेश सभा सदस्यको सपथ ग्रहण



धनगढी । प्रदेश सभा सदस्यको आइतबार पद तथा गोपनियताको सपथ ग्रहण भएको छ । प्रदेश नम्बर ७ मा एक समारोहबीच प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभा सदस्यलाई सपथ ग्रहण गराए ।
प्रदेश प्रमुख मल्लले जेष्ठ सदस्य दिव्यश्वरी शाहलाई सपथ ग्रहण गराएका थिए । प्रदेश सभा सदस्य शाहले बाँकी सदस्यहरूलाई सपथ ग्रहण गराएकी थिइन् ।
आइतबार ५२ जना प्रदेश सभा सदस्यले सपथ ग्रहण गरेका थिए । डोटीका निर्वाचित प्रदेश सभा सदस्य भरतबहादुर खड्का पारिवारिक कारणले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ ।
मौसमको खराबीका कारण शनिबार हवाई उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल सडमार्गहुदै काठमाडौंबाट धनगढी आएका थिए ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रदेश सभा बनेको छ । प्रदेश सभा सदस्यको सपथ ग्रहण कार्यक्रमको रिपोर्टिङका लागि धनगढीमा पनि सञ्चारकर्मीहरूको ठूलो भिड लागेको थियो ।
जिल्ला समन्वय समिति कैलालीको सभाकक्षमा सपथ ग्रहण कार्यक्रम भएको थियो । सरकारले धनगढीलाई प्रदेशको अस्थायी मुकाम तोकपछि जिल्ला समन्वय समितिको सभाकक्षलाई प्रदेश सभा भवन (संसद) बनाइएको छ ।
सपथ ग्रहण कार्यक्रममा अधिकांस प्रदेश सभा सदस्य नेपाली पोशाक (दौरा सुरुवाल) मा उपस्थित भएका थिए । थारु समुदायका प्रदेश सभा सदस्य आफ्नो मौलिक पोशाकमा आएका थिए ।
सपथ ग्रहणका क्रममा थारु समुदायका केही प्रदेश सभा सदस्यले थारु भाषामा सपथ लिएका थिए ।
प्रदेश सभा सदस्यको सपथ ग्रहण कार्यक्रम स्थलमा सर्वसाधारणको निकै भीड रहेको थियो । कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्चाधिकारी, सरकारी अधिकारीहरू, राजनीतिक नेताहरूको उपस्थिति रहेको थियो ।
सपथ ग्रहण कार्यक्रमको सञ्चालन प्रदेश प्रमुखको कार्यालयका सचिव युवराज सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार