६ कार्तिक २०८१, मंगलवार

आज प्रदेश सभा सदस्यलाई सपथ ग्रहण



धनगढी । नेपालमा पहिलो पटक व्यवस्था गरिएको प्रदेश सभाका सदस्यहरूलाई आज (आइतबार) पद तथा गोपनियताको सपथ ग्रहण गराइँदैछ ।
गत मंसिर १० र २१ गते दुई चरणमा गरेर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो ।
सरकारले गत बुधबार प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेपछि प्रदेश सभा गठनको औपचारिक प्रक्रिया अघि बढेको छ । शुक्रबार राष्ट्रपतिले सबै ७ प्रदेशका प्रमुखहरूलाई सपथ ग्रहण गराइसकेका छन् ।
आज (आइतबार) सबै प्रदेश सभा सदस्यको सपथ ग्रहण गराइने जनाइएको छ । प्रदेश नम्बर ७ मा प्रदेश सभा सदस्यको सपथ ग्रहणका लागि आवश्यक तयारी भइसकेको क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।
सपथ ग्रहण कार्यक्रमका लागि जिल्ला समन्वय समिति, कैलालीको सभाकक्षलाई रंगरोगन, सरसफाई तथा सजावट गरिएको छ ।
क्षेत्रीय प्रशासक पौडेलले बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम रहेको बताए । प्रदेश सभाको पहिलो बैठक पनि जिल्ला समन्वय समितिको सभाकक्षमा नै हुने उनले बताए ।
प्रदेश प्रमुख मोहनराज मल्लले आज (आइतबार) को सपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका प्रदेश सभा सदस्यहरूलाई राष्ट्रिय सभा सदस्यको निर्वाचन अघि नै सपथ ग्रहण गराइने बताए ।
खराब मौसमका कारण शनिबार काठमाडौंबाट धनगढी र नेपालगञ्जसम्मको हवाई उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल काठमाडौबाट सडकमार्ग हुँदै धनगढी आउने जनाइएको छ ।
प्रदेश प्रमुख मल्ल शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहण गर्न काठमाडौं गएका थिए ।
प्रदेश प्रमुखले ज्येष्ठ प्रदेश सभा सदस्यलाई सपथ ग्रहण गराउने र ज्येष्ठ सदस्यले अरु सदस्यहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।
सपथ ग्रहण अघि राष्ट्रिय गान र शहिदहरुलाई श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । सपथ ग्रहण कार्यक्रममा राजनीतिक दलका नेताहरू, प्रतिनिधि सभा सदस्यहरू, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ ।
प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिक तर्फ २१ जना गरेर कुल ५३ सदस्यीय प्रदेश सभा (संसद) रहेको छ । ७ नम्बर प्रदेश सभामा नेकपा ( एमाले) का २५, नेपाली कांग्रेसका १२, नेकपा माओवादी केन्द्रका १४ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य निर्वाचित भएका छन् ।
सपथ ग्रहण कार्यक्रम हुने र बैठक बस्ने जिल्ला समन्वय समिति कैलालीको सभाकक्ष र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।
सरकारले धनगढीलाई प्रदेश नम्बर ७ को अस्थायी मुकाम तोकेसंगै प्रदेश प्रमुखको कार्यालय तथा आवास र प्रदेश संसद भवनको टुंगो लगाइएको छ ।
प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकिएपछि क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक भवनहरूको अध्ययन गरी टुंगो लगाएको हो ।
७ नम्बर प्रदेश प्रमुखको कार्यालय उत्तरबेहडीस्थित घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनलाई तोकिएको छ ।
त्यस्तै, प्रदेश प्रमुखको आवास क्षेत्रीय वन निर्देशनालयको भवन तोकिएको छ । क्षेत्रीय बन निर्देशनालय रहेको क्षेत्र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेकोले प्रदेश प्रमुखको आवास गृहका रुपमा बनाइएको क्षेत्रीय प्रशासक पौडेलले बताए ।
क्षेत्रीय प्रशासक पौडेलले मुख्यमन्त्रीको आवास गृह र सचिवालयको टुंगो दोस्रो चरणमा लगाइने बताए ।
अहिले तोकिएका संरचनाहरू अस्थायी हुनेछन्’ क्षेत्रीय प्रशासक पौडेलले भने– भोली प्रदेश सरकार गठन भएपछि यी कार्यालयहरू फेरवदल हुनसक्छन् ।
टोलीले मुख्यमन्त्रीको कार्यालय, आवास गृह, संसद सचिवालका लागि पनि भवनहरूको अध्ययन भइसकेको जनाएको छ । मुख्यमन्त्रीको कार्यालय, आवासगृह, संसद सचिवालय तथा अन्य मन्त्रालय र विभागका लागि क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, जिल्ला सिंचाई कार्यालय लगायतका सरकारी भवनको अध्ययन गरिएको जनाइएको छ ।

Magh 07 gate (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार