२८ पुष २०८१, आईतवार

सांसदहरूको प्रतिवद्धता– आर्थिक समृद्धिका लागि एकजुट बन्छौं



धनगढी । कैलालीका सांसदहरूले प्रदेशको विकासका लागि एकजुट बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सांसदहरूले राजनीतिक आन्दोलन समाप्त भइसकेकोले अब प्रदेश सहित समग्र मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रीत हुनुपर्ने बताए ।
शुक्रबार धनगढीमा संवाद समुहले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले मुलुकलाई द्रुत आर्थिक विकासको मार्गमा डोर्‍याउन समाजका सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्ने बताए ।
सांसद रानाले विकास निर्माण योजना कार्यान्वयन गर्दा कहिलेकाही विवादहरू पनि सिर्जना हुने भएकाले नागरिक समाज तथा अन्य सरोकारवाला निकायले पुलको भूमिका निर्वाह गर्न आग्रह गरे । ‘विकास निर्माणका काम अघि बढ्दै गर्दा केही पक्षबाट निहित स्वार्थका लागि अवरोध सिर्जना गर्ने प्रयास हुने गरेका छन्’ उनले विकास निर्माणमा आउने कुनै पनि अवरोध र समस्या समाधानका लागि नागरिक समाज अग्रसर हुनुपर्दछ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गौरीशंकर चौधरीले समस्या भएका ठाउँमा विकल्प पनि हुने गरेको चर्चा गरे । उनले भने– विवादको समाधान भनेको संवाद नै हो । सांसद चौधरीले नेपालमा राजनीतिक विकाससंगै समाज भित्रका समस्या समाधानका साथै द्रुत आर्थिक विकास जरुरी रहेको बताए ।
उनले हरेक विकास निर्माण कार्यमा दुईतीन प्रतिशत व्यक्ति अवरोधकका रूपमा देखिने गरेको चर्चा गरे । ‘तर ९८ प्रतिशत व्यक्ति विकासकै पक्षमा हुन्छन’ उनले निहित स्वार्थका लागि विकास कार्यमा अवरोध पुर्‍याउने व्यक्तिहरूसंग सचेत हुन आग्रह गरे ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य दीर्घ सोडारीले मुलुकको आर्थिक समृद्धिका लागि प्रत्येक नागरिकमा त्यागको भावना हुनै पर्ने बताए । उनले सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेकोमा स्वागत गरे । प्रदेश सभा सदस्य सोडारीले भने– अब समग्र प्रदेशको तीब्र आर्थिक विकास हामी सबैको लक्ष्य हुनुपर्दछ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेश सा सदस्य डिल्लीराज पन्तले प्रदेशको आर्थिक विकासमा सबै राजनीतिक दलहरूबीच न्युनतम सहमति र सहकार्य अनिवार्य रहेको बताए । उनले भने– जबसम्म हामी सबै राजनीतिक दलबीच विकास निर्माणमा न्युनतम धारणा बन्दैन, तबसम्म विकास निर्माण कार्यमा बाधक तत्त्वले खेल्ने अवसर पाइरहन्छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य वीरभान चौधरीले प्रदेश नम्बर ७ मा बाढिपीडित, आरक्षा पीडित, सुकुम्बासी, कम्लहरी, कमैया लगायतका समस्या रहेकोले ती समस्याको दीर्घकालीन समाधानका लागि सकारात्मक सोचसहित गुरुयोजना आवश्यक रहेको चर्चा गरे ।
प्रदेश सभा सदस्य वीरभानले प्रदेश नम्बर ७ मा रानी जमरा कुलरिया सिंचाईं आयोजना, माथिल्लो कर्णाली, दु्रर्त मार्ग, पश्चिम सेती परियोजना लगायतका ठूला विकास निर्माण आयोजनामा आउन सक्ने समस्याको निकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रम संवाद समुहका सदस्य रमेश धामीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार कर्ण शाहले गरेका थिए भने समुहका सदस्य गयाप्रसाद कुश्मीले स्वागत गरेका थिए ।

माघ ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार