३ आश्विन २०८१, बिहीबार

राजधानीको मागमा आन्दोलन उग्र बन्दै



डोटी । प्रदेश नम्बर ७ को राजधानीको माग गर्दै डोटीमा भइरहेको आन्दोलन झन् चर्किएको छ । शुक्रबार डोटीको सदरमुकाम सिलगढीमा प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा १२ जना बढी आन्दोलनकारी र पाँच जना प्रहरी घाइते भएका छन् ।
झडपमा एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्ल, दिपायल सिलगढी नगरपालिका मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रीय सदस्य जर्नादन जोशी, सुशील घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझा लगायतलाई चोट लागेको छ ।
झडपमा प्रहरी निरीक्षक भीमदत्त जोशीसहित पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुँइटेलले बताए ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार आन्दोलनकारीले बताए ।
आन्दोलनकारीहरूले डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कालो झण्डा गाडेका छन् । प्रदर्शनकारीले डोटी जिल्लाको सरकारी कार्यालयका साइनबोर्ड हटाएका छन् ।
त्यस्तै, जिल्ला वन कार्यालय, जिल्ला पशु सेवा, निर्वाचन कार्यालय, जिल्ला नापी कार्यालय भवनमा तोडफोड तथा आगजनी गरिएको स्थानीयले बताए ।
दिपायलमा प्रदेश राजधानीको माग गर्दै केही सातादेखि डोटीमा आन्दोलन जारी रहेको छ । सरकारले गत बुधबार धनगढीलाई अस्थायी राजधानी तोकेपछि डोटीमा आन्दोलन अझ चर्केको छ ।

 

प्रादेशिक राजधानीको मागमा भएको आन्दोलनप्रति चासो
धनगढी । निर्वाचन आयोगले सरकारले तोकेका प्रदेशका अस्थायी मुकामलाई लिएर दाङ, डोटी लगायतका ठाउँमा भइरहेका आन्दोलनप्रति चासो व्यक्त गरेको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश राजधानीका विषयमा भइरहेका आन्दोलनले राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन असर पर्न सक्ने बताएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २४ गतेका लागि तोकिएको छ । त्यसका लागि १० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, दाङ र डोटीको आन्दोलन नरोकिए उम्मेदवारी दर्ता प्रभावित हुन सक्ने आयोगले चिन्ता व्यक्त गरेको छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि अनुकुल वातावरण बनाइदिन सरकार, राजनीतिक दल, प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचिनत सांसद लगायतका पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार