२८ पुष २०८१, आईतवार

एमालेद्वारा राष्ट्रियसभाका लागि नाम सिफारिस



धनगढी । नेकपा एमाले ७ नम्बर प्रदेश कमिटीले चार जना राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि १२ जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार धनगढीमा प्रदेश कमिटीका संयोजक भीम रावलको अध्यक्षतामा बसेको बैठकले खुला क्षेत्रको लागि एक जना पुरुष सदस्यका लागि तीन जना, दुई महिला सदस्यका लागि ६ जना र एक दलित सदस्यका लागि तीन गरेर १२ जनाको नाम सिफारिस गरेको प्रदेश कमिटिले जनाएको छ ।
खुला क्षेत्रतर्फ एक पुरुष सदस्यका लागि केन्द्रीय सदस्य महेश्वर पाठक, वैकल्पिक केन्द्रीय सदस्य विक्रम शाही, अछाम जिल्ला कमिटीका अध्यक्ष शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ ।
यस्तै, महिला सदस्यका लागि सावित्रा घिमिरे, गौरी ओली, जानकी अवस्थी, ईन्द्रा कडरिया, राधिका बोहरा र कमला ओलीको नाम सिफारिस गरेको छ भने दलिततर्फ एमाले वैकल्पिक केन्द्रीय सदस्य पुरन दयाल, अफिलाल उखेडा र चक्र स्नेहीको नाम सिफारिस गरेको छ ।
प्रदेशले सिफारिस गरेका नामबाट एमाले केन्द्रले चारजना उम्मेदवार चयन गर्ने जनाइएको छ । राष्ट्रियसभाको चुनाव माघ २४ गते सातवटै प्रदेशमा हुनेछ । प्रत्येक प्रदेशमा आठ जनाका लागि चुनाव हुनेछ । चुनावमा प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने छ्न् ।
एमाले माओवादी गठबन्धन अनुसार माओवादीले एक पुरुष र एक दलित उम्मेदवारलाई चुनावमा उठाउने छ । गठबन्धनले आठमध्ये दुई स्थानमा उम्मेदवारी नदिने भएको छ । एमाले प्रदेश कमिटीले हरेक जिल्लालाई समेट्ने गरेर उम्मेदवारको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार