६ कार्तिक २०८१, मंगलवार

अस्थायी राजधानीबारे उत्तेजित नहुनुस्– नेता रावल



धनगढी । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा ७ नम्वर प्रदेश संयोजक भीमवहादुर रावलले अहिले तोकिएका प्रदेशका अस्थायी मुकाम (राजधानी) का विषयमा उत्तेजित नहुन सबैमा आग्रह गरेका छन् ।
‘सरकारले आफ्नो अधिकार प्रयोग गरेर अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको छ’ बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– संविधानत: प्रदेशको राजधानीको अन्तिम निर्णय प्रदेश सभा बैठकले नै गर्ने छ ।
उनले संविधानत: प्रदेश सभाको दुई तिहाइ बहुमतले स्थायी राजधानीबारे निर्णय लिने बताए । उपाध्यक्ष रावलले भने– प्रदेश सभाले विकास र समृद्धिलाई दृष्टिगत गरेर नै प्रदेशको राजधानी तोक्ने छ ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कसलाई छोडौ ? भनेको प्रति कटाक्ष गरे । भने– संसारभर चुनाव जित्नेलाई नै सत्ता सुम्पने हो । राजनीतिशास्त्रका विद्यार्थी समेत रहनु भएका प्रधानमन्त्री देउवालाई मैले सम्झाउनु नपर्ने हो ।
पत्रकारहरूको एक जिज्ञासामा उनले बाम गठबन्धनभित्र प्रधानममन्त्री तथा अध्यक्ष को बन्ने ? भन्नेमा कुनै विवाद नरहेको दाबी गरे । उनले आवश्यकता अनुसार नै सरकार गठन र पार्टी एकता गर्ने बताए ।
एमाले प्रदेश नम्बर ७ को बैठक भोली (बिहीबार) धनगढीमा बस्ने जनाइएको छ । वैठकले एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवारको पनि सिफारिस गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार