११ श्रावण २०८१, शुक्रबार

७ नम्बरको प्रदेश प्रमुखमा मल्ल



धनगढी । कैलालीका पुराना राजनीतिज्ञ मोहनराज मल्ल प्रदेश नम्बर ७ को प्रमुख बनेका छन् । आज (बुधबार) बसेको मन्त्रीपरिषद् बैठकले मल्ललाई प्रदेश नम्बर ७ को प्रमुख तोकेको छ । संविधानमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्ति गर्ने प्रावधान छ ।
सरकारले सबै ७ प्रदेशका प्रमुख तोकेको जनाइएको छ । त्यस्तै, सरकारले सबै प्रदेशका अस्थायी मुकाम (राजधानी) पनि तोकेको छ ।
चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका ६८ वर्षीय मल्ल नेपाली काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०३७ सालदेखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य रहेका थिए ।
२१ वर्षको उमेरमै राजनीतिमा होमिएका मल्लले २०२८ सालमा कैलालीको पण्डौन गाउँ पञ्चायत प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायत उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार तथा त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव बटुलिसकेका छन ।
नैतिकवान, इमान्दार तथा आदर्शको राजनीति गर्ने नेताका रुपमा परिचित मल्ल पञ्चायती शासन कालमा समेत कुनै पनि विवादमा नमुछिएका निस्कलंक राजनीतिज्ञ मानिन्छन् । पञ्चायत र झण्डै दुई दशक राष्ट्रि प्रजातन्त्र पार्टीको राजनीति गरेका मल्लले २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर १ बसोबास गर्ने मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले महेन्द्र भुषण पदक पनि प्राप्त गरेका थिए । मल्लले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तर प्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन् ।
उनले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, मेक्सीको, क्युवा, फिनल्याण्ड, जापान, उत्तरकोरिया, साईप्रस, संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हंगेरी, पोलेण्ड, बुल्गेरिया र स्विजरल्याण्ड लगायतका मुलुकको भ्रमण गरेका छन् ।
प्रजातन्त्र पुनर्बहालीपछि २०४८, २०५१, २०५६ र २०६४ को आम निर्वाचनमा राप्रपाबाट चुनाव लडेका मल्लले सधैं दोस्रो मत प्राप्त गर्ने गरेका थिए ।
प्रदेश प्रमुख नियुक्तिसंगै प्रदेश सभा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने, समानुपातिकतर्फको मतगणना परिणाम घोषणा लगायतका प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

समन्वयकारी भूमिका निर्वाह गर्नेछु– मल्ल
७ नम्बर प्रदेश प्रमुख मल्लले आफूले सबै पक्षबीच समन्वय र समझदारी बृद्धि गरेर आफ्नो दायित्व निर्वाह गर्ने बताएका छन् ।
‘मैले जीवनभरी सधैं समन्वयकारी भूमिका निर्वाह गरे’ सरकारले प्रदेश प्रमुख तोकेलगत्तै अनुमोदन दैनिक संग कुरा गर्दै मल्लले भने– सरकारले मलाई विश्वास गरेर सुम्पेको भूमिका मैले पुरा गर्नेछु ।
प्रदेश प्रमुख मल्लले नेपालको संविधान तथा कानूनका आधारमा आफूले दायित्व निर्वाह गर्ने बताए । ‘मैले सरकारले ममाथि देखाएको विश्वासलाई इमान्दारिपूर्वक पुरा गर्नेछु’ उनले भने– संविधानले जेजति अधिकार र दायित्व सुम्पेको छ, त्यसअनुसार नै मैले काम गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार