१२ श्रावण २०८१, शनिबार

जीवन अमूल्य छ, आनन्दसँग बाँच्न सिकौं– योगी विकासानन्द



धनगढी । योगी डाक्टर विकासानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् ।
‘सबै हामी एक दिन मरेरै जाने हौं, जीवन रहेसम्म आनन्दसँग जिउन सक्नुपर्छ’ शनिबार धनगढी जेसिजले धनगढीमा आयोजना गरेको अनुभव साटासाट कार्यक्रममा बोल्दै योगी विकासानन्दले भने– ‘जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक रहेको छ ।’ उनले बढी नकारात्मक विचार भएका व्यक्ति सधैं दु:खी भइरहने चर्चा गरे ।
‘एक अध्ययनले देखाएको छ, मानिसमा जति विचार आउँछ त्यसमा ८० प्रतिशत नकारात्मक हुने गर्दछन्’ उनले नकारात्मक विचारले कहिल्यै पनि आनन्द नभएर चिन्ता मात्रै बढाउने बताए । ‘त्यसैले प्रत्येक मानिसले नकारात्मक धारणाको अन्त्य गर्न हरेक विषयमा सकारात्मक व्याख्या गर्न सिक्नु पर्ने बताए ।
उनले हरेक नकारात्मक दुर्घटनामा पनि सकारात्मक उत्तरहरू अवश्य हुने गरेको चर्चा गरे । जीवनमा आनन्द, सुख र सन्तोष प्राप्त गर्नका लागि आवश्यक कुराको सविस्तार व्याख्या गरे । भने– ‘धेरैजसो मानिसले दुर्घटना पछाडिका सकारात्मक उत्तरहरूबारे जान्न नसक्दा समस्या सिर्जना हुने गर्दछ । उनले सकारात्मक सोचको विकास गर्न योग, ध्यान, प्राणायाम लगायतका क्रियाकलाप अनिवार्य रहेको बताए ।
योगी विकासानन्दले जीवनलाई सार्थक बनाउन सानो–सानो कुरामा पनि खुशी हुन सिक्नुपर्ने बताए । ‘हामीहरू आफूसँग जे छ त्यसमा खुसी हुन छोडेर त्यो भन्दा बढी खोज्न थाल्छौं’ उनले भने– ‘हामीहरू जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कुरामा ध्यान दिँदैनौ र पछि दु:ख पाउँछौं ।’ उनले मानिस समयसँग चल्न सके राम्रो हुने पनि बताए ।
‘धेरै पैसा भएर पनि मानिस सुखी हुँदैन र थोरै पैसा हुने मानिस पनि दु:खी हुँदैन’ उनले व्याख्या गरे– ‘हामी पैसा व्यवस्थापन गर्न नसक्दा समस्या भोगिरहेका छौं ।’ पैसाबाट मानिसलाई १० प्रतिशत मात्र खुशी मिल्छ, बाँकी ९० प्रतिशत खुशी मानिसले विचारबाट आर्जन गर्नुपर्छ । उनले मानिसलाई गाँस, बाँस, कपास र सहवासका लागि चाहिने जति पैसाका लागि प्रयास गर्नुपर्ने बताए । उनले पैसाले मानिसलाई प्रेम, आनन्द, चरित्र र मुक्ति प्राप्त नहुने चर्चा गरे । उनको आग्रह र सल्लाह छ– ‘सधैं पैसाका पछाडि भाग्न छोड्नुस् ।’
उनले धेरैजसो मानिस मन नपरेको कुरा गर्न नचाहने र त्यसैले एकाग्र हुननसक्ने बताए ।
मनोक्रान्तिका अभियन्ता योगी विकासानन्दले आफू कुनै राजनीतिक दलप्रति आस्थावान नभएको बताए । ‘म कुनै पार्टी विशेषप्रति आस्था राख्दैन, तर देश चलाउन मनोक्रान्ति बुझेको नेता आवश्यक छ’ उनले कुनै पनि दलले मनोक्रान्ति सम्बन्धी सल्लाह सुझाव लिन चाहेमा आफू सधंै तत्पर रहेको बताए ।
कार्यक्रम धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाको अध्यक्षतामा भएको थियो । सो अवसरमा मनमोहन बिष्टले विषयको व्याख्या गरेका थिए । धनगढी जेसिजका तालिम संयोजक कलेन्द्र शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सत्यराज जोशीले गरेका थिए ।
कार्यक्रममा धनगढी लेडी जेसिजका अध्यक्ष निर्मला भट्ट, धनगढी जेसिजका पूर्व अध्यक्ष टेकराज पनेरू, धनगढी जेसीज, लेडी जेसीज, जुनियर जेसीजका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार