११ आश्विन २०७९, मंगलवार

नक्कली पैसा छाप्ने गिरोह पक्राउ



धनगढी । कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नक्कली पैसा छाप्ने गिरोहका दुई जना सदस्यलाई प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले बिहीबार राति पक्राउ गरेको हो । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९ वर्षीय अनमोल भनिने कृष्ण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६, को नेपाल भारत सीमा क्षेत्र दशगजा नजिक दुमलीबाट पक्राउ गरिएको प्रहरी क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिमले जनाएको छ ।
उनीहरूको साथबाट नेपाली एक हजार रुपैयाँको नक्कली नोट बनाउन राखिएका कागज, नक्कली पैसा बनाउन प्रयोग गरिने केमिकल र लेन्स पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्