२८ पुष २०८१, आईतवार

आनन्द बजारलाई छोटी भन्सार बनाउन माग



बसही (उत्तरप्रदेश, भारत) । नेपाल र भारत दुवै सीमावर्ती बजारका व्यावसायीहरूले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकासंग जोडिएको आनन्द बजार सीमानाका सञ्चालनको माग गरेका छन् ।
कल्भर्ट बनाउने क्रममा भएको विवादमा भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली युवा गोविन्द गौतम मारिएको दश महिना पुग्दासम्म पनि कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका आनन्दबजार हुँदै चल्ने नेपाल–भारतको अनौपचारिक सीमानाका अझै खुल्न सकेको छैन ।

कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ बाट निर्वाचित सांसद तारा लामा तामाङसंग भारतीय बसही बजारका व्यापारीहरू । तस्बिर : अनुमोदन

नेपाली युवक गौतम मारिएको स्थानभन्दा केही टाढा रहेको परासन नाका माओवादी युद्धकालताका बन्द भएको थियो । परासन सीमानाका पनि अहिले बन्द अवस्थामा छ ।
नेपाल र भारत दुवैतर्फका व्यावसायीले आनन्दबजार सीमानाका खोलेर छोटी भन्सार कार्यालयको मान्यता दिनु पर्ने माग गरे ।
बुधबार मात्रै दुवै देशका सीमावर्ती क्षेत्रका व्यावसायीहरूले कञ्चनपुर क्षेत्र नम्वर १ प्रदेशसभा क का सांसद तारा लामा तामाङलाई छुट्टाछट्टै रूपमा भेटेर सो सीमानाका छिटो नाका खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

घटनाबाट आक्रोशित नेपाली र भारतीय नागरिकले सुरक्षाकर्मीहरूका हतियार खोस्ने प्रयास गरे पनि सुरक्षाकर्मीले स्थिति नियन्त्रण गरेका कारण ठूलो घटना हुन पाएन ।

पुनर्बास क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन बुधबार आनन्दबजार हुँदै भारतको उत्तरप्रदेश राज्यको खिरी जिल्ला अन्तर्गत बसहीबजार पुगेका सांसद तामाङलाई दुवै पक्षका व्यावसायी र जनताबीच समधुर सम्बन्ध बनाएर छोटी भन्सार नाका सञ्चालनमा ल्याउन बसही व्यापार मण्डलका अध्यक्ष अनिल मधेसिया, संरक्षक राजेश सिंह लगायतले अनुरोध गरेका थिए ।
‘भारतको बसही बजारको नेपालीहरूसंग ३५ वर्ष पुरानो सम्बन्ध छ’ सांसद लामासंग बसही बजार मण्डलका संरक्षक सिहंले भने– नेपालमा संकटकाल लागेको बेला सयौं नेपालीलाई हामीले घर तथा स्कुलमा राखेर सुरक्षा दिएका हौं । उनले नेपाल र भारत दुवैतिरका केही अतिवादीहरूका कारण पछिल्लो घटना (पुनर्वास, आनन्दबजार) भएर सम्बन्ध बिग्रेको हो ।
ब्यापार मण्डलका पूर्व अध्यक्ष संजय सिंहका अनुसार बसाहावस्ती बसेको ६० वर्ष नाघिसकेको छ । त्यस्तै, बसही बजार खुलेको ३५ वर्ष पुगेको छ, तर नेपाल र भारतको सीमावर्ती क्षेत्रमा अहिले जस्तो नराम्रो सम्बन्ध कहिल्यै भएको थिएन ।
दश महिना अघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट नेपाली युवा गौतमको हत्या भएको घटना स्मरण गर्दै ब्यापार मण्डलका पूर्व अध्यक्ष सिंहले भने– त्यो दिन अझ ठूलो र भयावह घटना हुन्थ्यो होला, तर नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयमका कारण दुवैतिरका हामी सयौं सर्वसाधारण जोगियौं । घटनाबाट आक्रोशित नेपाली र भारतीय नागरिकले सुरक्षाकर्मीहरूका हतियार खोस्ने प्रयास गरे पनि सुरक्षाकर्मीले स्थिति नियन्त्रण गरेका कारण ठूलो घटना हुन नपाएको उनको भनाई छ ।
पुनर्वास घटनापछि दुई सय ५० जति पसल रहेको भारतीय बसही बजार सुनसान जस्तै रहेको छ । स्थानीय भारतीय व्यापारी भन्छन्– हाम्रा अधिकांस ग्राहक भनेकै नेपाली हुन्, उनीहरू आउन छोडेपछि यो बजार चकमन्न भएको छ ।
बसाहका व्यापारीहरूले भारतीय सुरक्षा अधिकारी, राजनीतिक दलको नेतृत्वलाई पटकपटक भेटेर सीमानाका सहज बनाउन तथा छोटी भन्सार कार्यालयको मान्यता दिन आग्रह गरेको बताए । ‘हामीले सीमावर्ती क्षेत्रका दुई देशका नागरिकको तहमा एउटा कमिटी बनाएर स्थिति सहज बनाउने प्रयास गरिरहेका छौं’ उनीहरूले सांसद तामाङसंग भने ।
उत्तरप्रदेशको विधान सभा सदस्य तथा भारतीय जनता पार्टीका नेता रोमी सहनीले पनि आफूले पनि दुई देशबीच बिग्रेको सम्बन्ध सुधारका लागि विभिन्न निकायसंग अनुरोध गरिरहेको बताए ।
नेपालको आनन्द बजारमा व्यावसाय गर्ने शेरबहादुर मगरले बसही बजारसम्म नेपालीको सहज पहुँच आवश्यक रहेको बताए । भने– हामीलाई २५ किलोमिटर टाढाको गौरीफन्टा पुग्न गाह्रो छ, त्यसैले दुई देशबीचको सम्बन्ध सुधार गरेर छोटी भन्सार नाका बनाउन पहल गरिदिनुपर्‍यो ।
एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका प्रदेश सभा सांसद तामाङले आफ्नो सपथग्रहण अघि नै यो नाका सहज बनाउने प्रयास गरिरहेको जानकारी दिए ।
२०७३ फागुन २६ गते नेपाली पक्षले आफ्नो जग्गामा कल्भर्ट बनाउन खोज्दा विवाद बढ्दै गएपछि भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्दको निधन भएको थियो । बसही बजार जान सजिलो बनाउनकै लागि नेपालले सीमा क्षेत्रभन्दा एक किलोमिटर वरै नेपालमा कल्भर्ट बनाउन खोजेको थियो ।
भारतीय बसही बजारबाट नेपालीहरूले वर्षौदेखि साइकलमा दैनिक उपभोग्य सामग्री किनमेल गरेर ल्याउने गरेका थिए । त्यस्तै, औषधी उपचारका लागि भारतका विभिन्न सहर पनि बसही बजार हुँदै आउजाउ भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार