११ श्रावण २०८१, शुक्रबार

केही स्थानीय तहको नाम र केन्द्र हेरफेर



धनगढी । सरकारले देशभरका ४६ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर ७ का चार वटा गाउँपालिकासहित देशभरका ४६ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गरेको मन्त्रालयको अनलाइन पोर्टलमा उल्लेख छ ।
नेपाल सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा (५) बमोजिम सम्बन्धित गाउँ सभा तथा नगर सभाको सिफारिस अनुसार गाउपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुबै हेरफेर गरि राजपत्र जारी गरेको छ ।
७ नम्बर प्रदेशको बाजुरा, बझाङ र दार्चुलाका चार गाउँपालिकाको नाम र केन्द्र हेरफेर गरिएको राजपत्रमा उल्लेख छ ।
बाजुराको हिमाली र दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र हेरफेर गरिएको छ । राजपत्रमा उल्लेख भए अनुसार हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर तय गरिएको छ । यसअघि हिमाली गाउँपालिकाको केन्द्र बाँधुलाई तोकिएको थियो ।
त्यस्तै, दार्चुलाको नौगाड गाउँपालिकाको धुलागडीबाट केन्द्र हेरफेर गरी नौगाड वडा नम्बर ५, होपरीगाड तोकिएको छ ।
उता, बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम र केन्द्र दुबै हेरफेर गरिएको छ । पाण्डवगुफाको नाम जगन्नाथ गाउँपालिका राखिएको छ भने जगन्नाथ केन्द्र हेरफेर गरि जुड्डी तय गरिएको छ ।
त्यस्तै, प्रदेश नम्बर ७ कै बझाङको काँडा गाउँपालिकाको नाम परिवर्तन गरि सैपाल गाउँपालिका बनाइएको छ ।
स्थानीय विकास मन्त्रालयले बाजुराको छेडेदह गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयको सक्कलै कागजपत्र माग गरेको छ । मन्त्रालयको अनलाईनमा राखिएको पत्र अनुसार गाउपालिकाको नाम परिवर्तन गर्ने प्रक्रिया पुरा भए वा नभएको यकिन गर्न कठिनाई भएको हुँदा गाउँ सभाको बैठक, उपस्थिती र निर्णयको सक्कलै पानाको प्रमाणित प्रतिलिपि समेत राखी पठाउन आग्रह गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको जानकारी 

आवश्यक कागजात पठाउने सम्बन्धमा | (छेडेदह गाउँपालिका)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार