६ कार्तिक २०८१, मंगलवार

प्रदेश राजधानीको मागमा डोटीमा आन्दोलन चर्कियो



दिपायल । प्रदेश राजधानीको माग गर्दै १० दिनयता डोटीको दिपायलमा जारी आन्दोलन चर्किएको छ । शुक्रबारसम्म दिपायल लगायत डोटीका विभिन्न स्थानमा आन्दोलन विस्तार भएको छ ।
सरकारले सात वटै प्रदेशमा केही दिनअघि अस्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढाएको थियो । यस क्रममा प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा राख्ने निर्णय भएको छ ।
सरकारले अस्थायी राजधानी राख्ने प्रक्रिया अघि बढाएपछि डोटीबासी आन्दोलनमा उत्रिएका छन् । यसअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय दिपायलमा रहँदै आएकोले प्रदेशको राजधानी पनि सोही स्थानमा हुनुपर्ने डोटीबासीको प्रमुख माग रहेको छ ।
शुक्रबार दिपायल लगायतका स्थानमा बजार, उद्योग, यातायात, विद्यालय, संघसंस्था बन्द गरेर आन्दोलनमा उत्रिएका स्थानीयले थाली पिटेर विरोध जनाए ।
शुक्रबार गाउँगाउँबाट दिपायल, पिपल्ला तथा राजपुर आइपुगेका सर्वसाधारणले हातहातमा बोकेका थाली पिट्दै प्रदेश राजधानीको माग गरे ।
प्रदर्शनकारीहरूले इतिहास, भूगोल र भौतिक स्रोत साधनका साथै सबै नौ जिल्लाको केन्द्रका रूपमा रहेको डोटी दिपायलमा नै प्रदेशको राजधानी राख्नुपर्ने माग गरे । उनीहरूले विभिन्न दलका नेताहरूको पुतला पनि दहन गरेका थिए ।
डोटी उद्योग बाणिज्य संघको अगुवाईमा संघर्ष समिति गठन गरी डोटीमा निरन्तर आन्दोलन भइरहेको छ । प्रदर्शनकारीले शुक्रबार क्षेत्रीय कार्यालयहरूमा प्रदेश सचिवालय, मुख्यमन्त्रीको कार्यालय तथा विभिन्न मन्त्रालयका साइनबोर्ड पनि झुण्ड्याएका छन् ।
आन्दोलनमा शिक्षक, प्राध्यापक, बिद्यार्थी, सरकारी तथा संघसंस्थाका कर्मचारी, पत्रकार लगायतले ऐक्यबद्धता जनाइरहेका छन् ।
निरन्तर यातायात तथा बजार बन्द भएका कारण डोटी तथा अछाम र बाजुरामा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । दिपायलमा यातायात बन्द गरिएका कारण सो स्थानहुँदै अछाम र बाजुरातिर ढुवानी हुने मालसामान रोकिएका छन् ।
यातायात बन्द हुँदा सयौं यात्रु बाटोमा नै अलपत्र परेका छन् । यातायात सेवा बन्द भएपछि रोकिएका यात्रु पैदल हिँडेर बाजुरा, अछामतिर गइरहेका छन् ।
‘डोटीमाथिको अन्याय सहन्न सकिन्न’ डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने– सरकारले हाम्रो माग गम्भीरतासाथ लिएन भने त्यसबाट आउने दुष्परिणामको दोष सरकार र नेताहरूले लिनु पर्नेछ ।
शहरी विकास मन्त्रालयले प्रदेश नम्बर ७ को राजधानी धनगढीमा बनाउने खाका प्रस्तुत गरेपछि आन्दोलन थप चर्केको एमालेका नेता प्रेम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार