१ जेष्ठ २०८१, मंगलवार

आइस सुदूरपश्चिम खप्तड गोल्डकप शुरु : उद्घाटन खेलमा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव विजयी



धनगढी । निजी क्षेत्रको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिता शुक्रबारदेखि धनगढीमा शुरु भएको छ ।
प्रतियोगिताको एक भव्य समारोहबीच नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले उद्घाटन गरिन् ।
सो अवसरमा नेतृ देउवाले खप्तड गोल्डकप, डिपिएल, फारवेष्ट पशुपति कप लगायतका ठूला खेल आयोजनाले प्रदेश नम्बर ७ को खेल क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गरिरहेको चर्चा गरिन् ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव विजयी भएको छ ।
सुदूरपश्चिम–११ ले काठमाडौंको च्यासल युथ क्लवलाई पेनाल्टी सुटआउटमा पाँच–चार गोलअन्तरले पराजित गर्‍यो । निर्धारित समयमा दुवै टिम बराबर भएपछि खेललाई पेनाल्टी सुटआउटमार्फत टुंग्याइएको थियो ।
प्रतियोगितामा नेपालका ए डिभिजनका फुटवल क्लवहरू तथा विदेशी क्लवको सहभागिता रहेको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा मनाङमस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा–११, सहारा क्लव पोखरा, अग्नी रूपन्देही ११, सुदूरपश्चिम ११ स्पोर्ट्स, धरान फुटवल क्लव, एपिएफ क्लव, डुक स्टार क्लव भुटान, च्यासल युथ क्लव, र थ्री स्टार क्लवसहित १२ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार र उपविजेतालाई पाँच लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । भने उत्कृष्ट खेलाडीलाई यमाहा मोटरसाइकल पुरस्कारस्वरुप दिइने जनाइएको छ ।
तीन हजार पाँच सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको रंगशालामा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ । कृत्रिम प्याराफिटपछि एक हजार पाँच सय थप दर्शक अटाउनेछन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रम आयोजक क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार