१ जेष्ठ २०८१, मंगलवार

खुला दिसामुक्त जिल्ला घोषणा गर्न ढिलाई



धनगढी । कैलालीलाई पुस महिनाभित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्न कठिन हुने देखिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा गर्न पटकपटक मिति परिवर्तन गरिए पनि अझैं कैलालीलाई तोकिएको मितिभित्र घोषणा गर्न चुनौति देखिएको छ ।

फाइल तस्बिर

सरसफाई गुरुयोजना–२०६८ अनुसार कैलालीलाई सन् २०१६ भित्र र नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, सन् २०१६ भित्र कैलालीलाई खुला दिसामुक्त घोषणा गर्न सकिएन ।
सो मितिभित्र घोषणा गर्न नसकिएपछि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय मितिले सन् २०१७ भित्र कैलालीलाई खुला दिसामुक्त घोषणा गर्ने नयाँ लक्ष्य तोकेको थियो । तर, सो मितिभित्र पनि घोषणा गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक तथा सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सूर्यबहादुर थापाले बताए ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा हालसम्म १२ वटा स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरिगंगा, घोडाघोडी, टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर, जानकी, कैलारी, मोहन्याल, चुरे र बर्दगोरिया गाउँपालिकामा हालसम्म खुला दिसामुक्त घोषणा भइसकेका छन् । लम्कीचुहा नगरपालिका घोषणा हुन बाँकी रहेको छ ।
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले बिहीबार लम्कीचुहा नगरपालिकामा अनुगमन गर्दा खुला दिसामुक्त घोषणाको तयारीमा रहेको पाएको जनाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक पुष्पराज उप्रेतीले लम्कीचुहा नगरपालिकामा सबै घरधुरीमा सौचालय निर्माण भइसकेको पाइएको बताए । लम्कीचुहा नगरपालिकामा १६ हजार सात सय २३ घरधुरी रहेका छन् ।
उनले लम्कीचुहा नगरपालिकाले २३ गते भव्यसंग खुला दिसामुक्त घोषणा गर्ने तय भएको बताए ।
अनुगमनमा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक पुष्पराज उप्रेती, वेश कैलालीका जिल्ला संयोजक विनोदबहादुर सिंह, सेवक नेपालका पुरनलाल राना, फेडवासनका चिन्तामणी ढुंगेल, रेडक्रसका खेमराज जोशी र नेपाल पत्रकार महासंघका सचिव मिन ठकुरीको सहभागिता रहेको थियो ।
लम्कीचुहा नगरपालिकालाई २३ गते खुला दिसामुक्त घोषणा गरिए पनि कैलाली जिल्लालाई पुसभित्रै खुला दिसामुक्त घोषणा गर्न सम्भव नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
जिल्ला स्तरिया खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले प्रतिवेदन तयार पारी क्षेत्रीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिलाई बुझाउने र सो समितिले जिल्लाको अनुगमन गरेपछि मात्र कैलालीलाई घोषणा गरिने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख नारायण काफ्लेले बताए ।
२३ गते लम्कीचुहा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएपछि प्रतिवेदन बुझाईने र क्षेत्रीय टोलीले पुसको अन्तिम सातामा जिल्लाको अनुगमन गर्ने भएकाले पुसभित्र जिल्ला घोषणा गर्न नसकिने उनले बताए ।
७ नम्बर प्रदेशको सात वटा जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । यस प्रदेशको कैलाली र दार्चुला खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् ।
७ नम्बर प्रदेशको दार्चुलालाई पुस २९ गते खुला दिसामुक्त घोषणा गरिने जनाइएको छ । कैलालीलाई माघको पहिलो सातासम्म खुला दिसामुक्त घोषणा गर्ने सम्भावना रहेको छ ।

पुस २१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार