६ कार्तिक २०८१, मंगलवार

दुई सय बढी विद्यालय सून्य दरबन्दीमा सञ्चालित



बैतडी । बैतडीमा दुई सय भन्दा बढी सामुदायिक विद्यालय सून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । बैतडीमा रहेका पाँच सय ३९ आधारभूतदेखि माध्यामिक विद्यालयमध्ये दुई सय २४ वटा सून्य दरबन्दीका कारण निजी स्रोतका शिक्षकले अध्यापन गरिरहेको पाइएको छ ।
दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर समेत खस्कदै गएको छ । समुदायले विद्यालय स्थापनाका लागि माग गर्दा जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको तर विद्यालयमा दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएका छन् ।
बैतडीका सामुदायिक विद्यालयहरू मध्ये आधारभूत तह अन्तर्गत कक्षा १ देखि ५ सम्म पढाइ हुने मध्ये ९० विद्यालय दरबन्दीबिहीन छन् ।
त्यस्तै, कक्षा १ देखि ८ सम्म पढाइ हुने ९१ र माध्यमिक तहका ४३ विद्यालय दरबन्दीबिहीन रहेका छन् ।
शिक्षक दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले समस्या खेपिरहेका छन् । निजी श्रोतमा चलेका विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताए ।
बैतडीमा २०७१ सालमा दरबन्दी मिलान गर्ने निर्णय गरिएको भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार